वृद्धसेवा केन्द्रमा दैनिक छाक टार्न समस्या

काठमाण्डु टुडे २०७० पुष १० गते ८:१६ मा प्रकाशित

कञ्चनपुर, १० पुस – घर परिवारबाट तिरस्कृत ज्येष्ठ नागरिकको पक्षका काम गर्दै आइरहेको महिला तथा वृद्धसेवा केन्द्र कञ्चनपुरमा आर्थिक अभावका कारण दैनिक छाक टार्न समस्या उत्पन्न भएको छ ।

महिला तथा वृद्धसेवा केन्द्र कञ्चनपुरकी अध्यक्ष शारदा चन्दले सेवा केन्द्रमा कहीँकतैबाट आर्थिक सहयोग नआएका कारण ज्येष्ठ नागरिकको दैनिक खानपानको जोहो गर्न धौधौ परेको बताए ।

उनले भने, ‘घर परिवारबाट बहिस्कृत भएका ज्येष्ठ नागरिकलाई यहाँ पनि समस्या उत्पन्न भएको छ ।’ घरबाट निकालिएका ज्येष्ठ नागरिकको लागि राज्यले कुनै व्यवस्था नगरेको अध्यक्ष चन्दको गुनासो छ ।

उनका अनुसार सेवा केन्द्रमा रहेका वृद्धवृद्धाको भरणपोषणमा वार्षिक १७ लाख ४८ हजार खर्च हुने गरेको छ । गत वर्ष औषधि उपचारमा एक लाख र दाहसंस्कारमा ३० हजार खर्च भएको अध्यक्ष चन्दले बताए ।

विभिन्न संघ संस्थाको आर्थिक सहयोगमा उक्त वृद्धासेवा केन्द्र सञ्चालन भइरहेको छ । पच्चीस महिला र १२ पुरुष रहेको उक्त वृद्धसेवा केन्द्रमा पाँच हिंसा पीडित महिला र पाँच अनाथ बालबालिका रहेका छन् ।

हिंसा पीडित ४५ महिलाको पुनःस्थापना र पाँच महिलालाई अंश दिलाएको अध्यक्ष चन्दले बताए । विसं २०६३ मा स्थापना भएको वृद्धसेवा केन्द्रले घरबाट निकालिएका ज्येष्ठ नागरिकको संरक्षण, हिंसा पीडित महिलाको उद्धार, र सडक बालबालिकालाई आश्रय दिँदै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us