एकल महिलालाई यातायातमा २५% छुट

काठमाण्डु टुडे २०७० पुष १० गते ८:०१ मा प्रकाशित

कञ्चनपुर, १० पुस – कञ्चनपुरस्थित सेती महाकाली यातायात व्यवसायी समितिले एकल महिलालाई यातायातमा २५ प्रतिशत छुट दिएको छ । द्वन्द्वकालमा एकल भएका महिलालाई समितिले सो छुट दिएको हो ।

एकल महिलालाई सम्मान गर्ने उद्देश्यले छुट दिइएको सेती महाकाली यातायात व्यवसायी समितिका अध्यक्ष बाबुराम शर्माले बताए । दश वर्षे द्वन्द्वकालमा एकल भएका महिलालाई राज्यले नहेरेको भन्दै अध्यक्ष शर्माले समितिले आफ्नो दायित्व पूरा गरेको बताए ।

अध्यक्ष शर्माले आफ्नो समिति नाफामुखी नभई सेवामुखी भएको समेत दाबी गरे ।

द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्रका अध्यक्ष सीता बोहराले पाँच वर्षको सङ्घर्षपछि यातायात छुटमा पहल भएको बताइन् । देशमै पहिलो पटक कञ्चनपुरमा एकल महिलालाई यस प्रकारको छुट दिइएको उनको भनाई छ ।

एकल महिलाको अधिकारका लागि कार्यरत विभिन्न संघ संस्थाले गर्न नसकेको काम द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्रले गरेको उनले दाबी गरिन् । कञ्चनपुर जिल्लामा १५ हजार एकल महिला छन् ।

द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्रमा भने एक हजार एकल महिला सदस्य छन् । केन्द्रको सिफारिसमा समितिले एकल महिलालाई परिचयपत्र दिने र त्यसैको आधारमा समितिले उनीहरुलाई भाडामा छुट दिने छ ।

यसअघि पनि सो समितिले एकल महिलालाई यातायातमा १५ प्रतिशत छुट दिँदै आएको थियो । एकल महिलाको छुट बढाउन माग भएबमोजिम १५ बाट २५ प्रतिशत गरिएको समितिले जनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us