
भक्तपुर, १० पुस – महानगरीय प्रहरी परिसर भक्तपुरले प्रहरी अनुशासन र आचरणविपरीत कार्य गरेको भन्दै दुई प्रहरी जवान र दुई प्रहरी हवल्दारलाई निलम्बन गरेको छ ।
निलम्बित हुनेमा प्रहरी जवान दामोदर पन्थ र सन्तोषसिंह धामी तथा प्रहरी हवल्दार रामकृष्ण थापा र दिलबहादुर दमाई रहेको प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । प्रहरी जवानद्वय पन्थ र धामी महानगरीय प्रहरी वृत्त थिमि मातहत दुवाकोट प्रभागमा कार्यरत थिए ।
मादक पदार्थ सेवन गरी काममा नजाने गरेको र आफूभन्दा वरिष्ठ प्रहरी अधिकृतसँग झै झगडा गरेको अभियोगमा उनीहरुलाई निलम्बन गरिएको भक्तपुरका प्रहरी उपरीक्षक जगतमान श्रेष्ठले जानकारी दिए ।
त्यस्तै प्रहरी हवल्दारद्वय थापा र दमाईलाई पनि कामको समयमा मादक पदार्थ सेवन गरी निवार्चनको सुरक्षाका लागि भर्ती भएका महिला म्यादी प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा निलम्बन गरिएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।