महोत्तरीमा भ्रष्टाचारको रहस्य खुल्दै

काठमाण्डु टुडे २०७० पुष १० गते ६:३९ मा प्रकाशित

बर्दिवास, १० पुस – महोत्तरी जिल्लाको सुन्दरपुर गाविसमा एकपछि अर्को भ्रष्टाचारको रहस्य खुल्दै गएको छ । पछिल्लो पटक सो गाविसमा ग्रामीण सडक मर्मत शीर्षकमा भ्रष्टाचार भएको रहस्य खुलेको हो ।

यसअघि गत वर्ष सामाजिक सुरक्षाको रकम र अन्य विकास शीर्षकको रकम दुरुपयोग भएको उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले गाविस सचिव शिवराम पाण्डेमाथि कारबाही बढाउँदै अनुसन्धान थालेको थियो ।

सोबारे निर्णय नआइपुग्दै भ्रष्टाचारविरुद्ध महोत्तरीका अभियानकर्ता राजकिशोर साहले ग्रामीण सडक मर्मत गर्ने कार्यमा सचिव पाण्डेले फेरि छ लाख रकम अनियमितता गरेको भन्दै उजुरी दिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

ग्रामीण सडक मर्मत शीर्षकमा विनियोजित रकममध्ये वडा नम्बर ४ लाई छुट्याइएको रकम रत्तिभर काम नगरी कागजी ब्यहोरामात्र मिलाएर दुरुपयोग गरिएको उजुरीकर्ता साहको दाबी छ । जिल्ला प्रशासन कार्यालय तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी दर्ता भएपछि अनुसन्धान थालिएको प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले जानकारी दिए ।

उजुरीकर्ता साहले सडक मर्मतका लागि विनियोजित सो रकम खर्च देखाइएको सडकको तत्काल नै उच्चस्तरीय प्राविधिक टोलीबाट निरीक्षण गराइनुपर्ने माग राखेका छन् ।

जिल्लामा भ्रष्टाचारविरुद्ध बर्सेनी उजुरी परेपनि त्यसको छिनोफानो नहुने गरेको आम टिप्पणी बाक्लिएकोे छ । दुई वर्षअघि पाँचजना गाविस सचिवविरुद्धका कारबाही अझै किनारा नलाग्दा निरासा छाएको भ्रष्टाचारविरुद्धको अभियानमा सक्रिय बनौलीदनौलीकी अभियानकर्मी शारदा भुसाल झाको भनाइ छ ।

यता जिल्ला प्रशासन कार्यालयले साहको उजुरी प्राप्त हुनासाथै सडक मर्मतसम्बन्धी योजनाको स्थलगत निरीक्षण गरी सोको यथार्थ प्रतिवेदन पेस गर्न प्राविधिक टोली खटाइसकेको जनाएको छ ।

यस्ता प्रकृतिका मुद्दामा गहिरिएर अनुसन्धान गर्नुपर्ने, तथ्य सङ्कलन गर्नुपर्ने र मुद्दाको अङ्ग पुगे नपुगेको विचार पु¥याउनुपर्ने भएकाले फैसलामा केही समय लाग्ने गरेको प्रजिअ थपलियाले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us