युवतीमाथि तेजाब खन्याए युवकले

काठमाण्डु टुडे २०७० पुष १० गते ४:०९ मा प्रकाशित

धनगढी, १० पुस–आफूसँग विवाह गर्न नमानेको भन्दै विक्षिप्त मनस्थितिमा पुगेका एक युवकले छ्यापेको तेजाबका कारण कैलालीमा एक युवती घाइते भएकी छन् । गेटा गाविस–४ का २३ वर्षीय रवीन्द्र ठगुन्नाले स्थानीय विद्यालयमा १२ कक्षामा अध्ययनरत १९ वर्षीया युवतीको शरीरमा बिहान विद्यालय जाँदै गरेको मौका छोपी तेजाब छ्यापेका हुन् ।

तेजाबले युवतीको अनुहार र घाँटी जलेको छ । उनको हाल काठमाण्डुमा उपचार भइरहेको छ ।

‘विवाहका लागि मगनी गर्न गएकामा युवती पक्षबाट अस्वीकार गरिएपछि विक्षिप्त भएका ठगुन्नाले तेजाब फ्याँकेछन्,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक रमेश पण्डितले भने ।

घटनालगत्तै फरार रहेका अभियुक्त ठगुन्नालाई प्रहरीले काठमाण्डुबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलालीमा पु¥याइएको छ । उनीमाथि ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता गरी कारबाहीको प्रक्रिया अघि बढाइएको पनि पण्डितले जानकारी दिए ।

घटना मंसिर २४ गते भए पनि पीडित युवती पक्षले ढिलो गरी प्रहरीमा जाहेरी दिएपछि मात्रै घटना सार्बजनिक भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us