ट्याक्टर दुर्घटनामा तीनजनाको मृत्यु

काठमाण्डु टुडे २०७० पुष १० गते ३:३९ मा प्रकाशित

काठमाण्डु, १० पुस– बाग्लुङ र सोलुखुम्बुमा भएका ट्याक्टर दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । बाग्लुङको सर्कुवा गाविस–५ मा ध १ त २१६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चालकसहित दुईजनाको मृत्यु भएको छ ।

कुश्मीशेराबाट जैदीको धुल्लुका लागि सामान लिएर जाँदै ट्रयाक्टर माइको स्थान नजिकै दुर्घटना हुँदा रायडाँडा गाविसका ट्रयाक्टर चालक अन्दाजी २० वर्षीय सन्देश थापा र छिस्तीकी अन्दाजी २२ वर्षीया महिलाको ज्यान गएको प्रहरीले बताएको छ । मृत्यु हुने महिलाको सनाखत भएको छैन ।

ट्रयाक्टर सडकबाट २०० मिटर तल खसेको प्रहरी हवल्दार विष्णु अधिकारीले जानकारी दिए । उकालो बाटामा ट्रयाक्टरमा समस्या आएकाले दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

यसैगरी ओखलढुङ्गाबाट सोलुखुम्बुको सदरमुकाम सल्लेरी जाँदै गरेको लु २ त ५९६९ नम्बरको टयाक्टर लेले सडकखण्डमा दुर्घटना हुँदा सोलुखुम्बु तिङ्ला वडा नम्बर ६ बस्ने अन्दाजी ३५ वर्षीय गंगाबहादुर बस्नेतको मृत्यु भएको छ ।

दुर्घटनामा टयाक्टर चालक दाङ धनौरी ६ का कुलविर चौधरी घाइते भएका छन् । उनको उपचार सोलुखुम्बुको फाप्लु अस्पतालमा भैरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us