
पर्सा, १० पुस–मध्य तथा पूर्वी तराईका बिभिन्न जिल्लाहरुमा शीतलहरले जनजीबन प्रभावित भएको छ । बाक्लो कुहिरोसँगै चलेको शीतलहरले बालबालिका र बृद्ध बृद्धा बढि समस्यामा परेका छन् ।
चिसोकै कारण नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा दैनिक ५५ जनाभन्दा बढि बालबालिका उपचारको लागि भर्ना हुने गरेका छन् । कपिलबस्तु सदरमुकाम तौलिहवास्थित पृथ्वी अस्पतालमा पनि निमोनिया र पखालाका विरामीहरुको संख्या बढ्दै गएको छ ।
बाग्लुङमा पनि चिसो बढ्दै गएपछि विद्यालयहरुले घुम्ती रुपमा पढाउने गरेका छन् ।
बाक्लो कुहिरोका कारण जनकपुरबाट हुने हवाई उडानहरु अबरुद्ध भएका छन् ।
यसैबीच धनुषा जिल्लाको विपद व्यवस्थापन समितिले शितलहरबाट जोगाउनका लागि नगर क्षेत्रसहित ग्रामिण इलाकाका सार्बजनिक स्थानमा आगो बाल्ने व्यवस्था मिलाएको छ ।
नेपालगन्जमा पनि उडान प्रभावित
शीतलहर तथा बाक्लो कुहिरोका कारण नेपालगन्जबाट मध्यपश्चिम क्षेत्रका पहाडी तथा हिमाली जिल्लाको हवाई जहाजको उडान प्रभावित भएको छ । शीतलहर तथा कुहिरोले आकास ढाकिएपछि पहाडी तथा हिमाली जिल्लाका सबै उडान मङ्गलबारदेखि अवरुद्ध भएका छन् भने काठमाण्डुका लागि अपराह्नको समयमा मात्र उडान हुने गरेको राँझास्थित नागरिक उड्डयन कार्यालयले जनाएको छ ।
यसैबीच बाँकेलगायत मध्य तथा सुदूरपश्चिमका तराईका जिल्लामा शीतलहर सुरु भएपछि अत्याधिक चिसोका कारण यस क्षेत्रको जनजीवनसमेत नराम्रोसँग प्रभावित बनेको छ । अत्याधिक चिसोका कारण अत्यावश्यक कामबाहेक मानिसहरु घरबाहिर निस्केको पाइँदैन भने कार्यालयहरुमा सेवाग्राहीको उपस्थिति पनि पातलिएको छ ।
स्थानीय अस्पतालमा कोल्ड डाईरिया, रुघाखोकी, टाइफाइड तथा निमोनिया रोगका बिरामीको पनि चाप बढेको छ भने स्थानीय प्रशासन कार्यालयले चिसोबाट नागरिकलाई जोगाउन आवश्यक गृहकार्य थालेको छ ।