आज क्रिसमस, इसाई धर्मावलम्बीलाई शुभकामना

काठमाण्डु टुडे २०७० पुष १० गते ३:४० मा प्रकाशित

Christmasकाठमाण्डु, १० पुस–ईसाई धर्मावलम्वीहरुको महान पर्व क्रिसमस बुधबार नेपाल लगायत विश्वभर हर्षोल्लासका साथ मनाइँदै छ । ईसाई धर्मका प्रवर्तक जिसस क्राइस्टको जन्मदिनको सम्झनामा हरेक बर्षको डिसेम्बर २५ मा यो पर्व मनाउने गरिन्छ ।

नेपालका ईसाई धर्मावलम्वीहरुले पनि चर्च तथा अन्य सार्वजनिक स्थलहरुमा प्रार्थना तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु गर्ने र शुभकामना आदान प्रदान गरी क्रिसमस मनाउँदैछन् ।

नेपाल धर्मनिरपेक्ष राज्य घोषणा गरेपछि क्रिसमलाई पनि राष्ट्रिय पर्वको रुपमा मान्यता दिएको छ । सरकारले क्रिसमस पर्वको अवसरमा सार्वजनिक बिदा दिने गरेको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार हाल नेपालमा ३ लाखभन्दा बढि इसाई धर्म अनुयायी रहेका छन् ।

क्रिसमसको उपलक्ष्यमा राष्ट्रपति, उपराष्ट्रपति, मन्त्रिपरिषद अध्यक्ष लगायतका बिभिन्न दलका नेताहरुले शुभकामना दिएका छन् ।

क्रिसमसका अवसरमा शुभकामना

राष्ट्रपति डा. रामवरण यादवले इसाई धर्मावलम्बीको महान् पर्व क्रिसमसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीमा सुख शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् । विविध सांस्कृतिक परम्पराबाट समृद्ध हाम्रो मुलुकमा यस प्रकारका चाडपर्वको संरक्षण र सम्बद्र्धनबाट देशमा आपसी विश्वास र सद्भावको अभिवृद्धि भई राष्ट्र निर्माण एवम् समुन्नत सामाजिक संरचनाको निर्माण गर्ने कार्यमा महत्वपूर्ण टेवा मिल्नेछ भन्दै उनले यस पर्वले सबै नेपालीबीच बन्धुत्व र एकताको भावना बढाउने कार्यमा सहयोग पुग्ने आशाका साथ शान्त, समुन्नत तथा समृद्ध नेपाल बनाउन हामी सबैलाई प्रेरणा प्राप्त होस् भन्ने कामना गरेका छन् ।

यसै उपलक्ष्यमा उपराष्ट्रपति परमानन्द झाले संविधानसभाको दोस्रो निर्वाचनपछि देश जनचाहनाअनुरूपको लोकतान्त्रिक संविधान प्राप्त गर्दै शान्ति, स्थिरता र समृद्धिको मार्गमा अघि बढ्न सकोस् तथा सबै नेपालीलाई सुख, शान्ति र समृद्धि प्राप्त होस् भनी कामना गरेका छन् । उनले देशविदेशमा बस्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुस्वास्थ्य, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको शुभकामना दिएका छन् ।

यसैगरी मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले नेपालको एकता र धार्मिक सहिष्णुतालाई जीवन्त राख्न सबै नेपालीलाई प्रेरणा प्राप्त भइरहोस् भन्ने शुभकामना दिएका छन् । जुनसुकै धार्मिक समुदायमा आबद्ध भए तापनि धार्मिक विषयमा सहिष्णुता र सम्मान रहेका कारण नेपाली जनताबीच रहेको मैत्रीभावको सदैव प्रशंसा हुने गरेको बताउँदै उनले हाम्रो एकता र धार्मिक सहिष्णुताप्रति हामी जति गौरवान्वित छाँैं, यस विशेषतालाई संरक्षण गरी दिगो बनाइराख्नु हाम्रो जिम्मेवारी पनि हो भनेका छन् ।

यसैगरी एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले येशू ख्र्रीष्टको जन्मदिन पारेर मनाइने ख्रीष्टमस पर्वका अवसरमा समस्त इशाई धर्मावलम्बीहरुमा शुभकामना दिदै यस पर्वले सबैमा भाईचारा, सहकार्यको एवं सकारात्मक सोचको विकास गर्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us