
काठमाण्डु, ९ पुस – दलहरुले समानुपातिक सूची बुझाउने म्याद फेरि थप्न निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।
मंगलबार बसेको उच्चस्तरीय राजनीतिक समितिको बैठकमा सहभागी दलका नेताहरुले यही पुस १५ गतेसम्म म्याद थप्न आयोगलाई आग्रह गर्ने निर्णय गरेका हुन् ।
देश सहमतिय राजनीतिको प्रक्रियातर्फ अघि बढेकाले सूची बुझाउने म्याद थप्नुपर्ने निष्कर्ष सहित निर्वाचन आयोगको कार्यालय कान्तिपथ पुगेर दलहरुले म्याद थप्न अाग्रह गरेका छन् ।
सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले निर्वाचन आयोगलाई अझै म्याद थप्न आग्रह गर्नुपर्ने प्रस्ताव उच्चस्तरीय राजनीतिक समितिको बैठकमा गरेको थियो ।
एकीकृत नेकपा माओवादी लगायत संविधानसभामा आउन तयार भएका दलहरुलाई समानुपातिक सभासद छान्ने समय दिन केही दिन म्याद बढाउनु पर्ने तर्क गर्दै काँग्रेस उपसभापति रामचन्द्र पौडेलले म्याद नथपिए चार बुँदे सहमतिको अर्थ नहुने धारणा राखेका थिए ।
निर्वाचन आयोगले समानुपातिक सभासदको सूची बुझाउन दलहरुलाई दिएको म्याद बुधबार सकिदै छ । यसअघि आयोगका पदाधिकारीहरुले अब फेरि म्याद थप्न नसकिने भन्दै छिटो सूची बुझाउन दलहरुलाई आग्रह गरेका थिए ।