सभासद चयनमा काँग्रेसमा किचलो

काठमाण्डु टुडे २०७० पुष ९ गते ८:४० मा प्रकाशित

NC-Flagकाठमाण्डु, ९ पुस – नेपाली काँग्रेसमा समानुपातिक सभासद चयनमा किचलाे देखिएकाे छ । ९१ जना सभासदका लागि करीव दुई सय आकाँक्षी देखिएपछि काँग्रेसमा विवाद बढेको हो ।

संसदीय वोर्डमा रहेका १४ जना नेताले आ–आफ्नो पोल्टाबाट झिकेका सूची सदर गराउन खोज्दा काँग्रेस भित्रको किचलो बढेर गएको छ।

सभापति सुशिल कोइरालाले ६० प्रतिशत र शेरबहादुर देउवाले ४० प्रतिशत सभासद पाउने गरी अनौपचारिक सहमति भएपनि कोइरालाको कोटामा रामचन्द्र पौडेल, प्रकाशमान सिंह र अर्जुननरसिंह केसी सहितका नेताहरुले आ–आफनो पोल्टाबाट झिकेर नाम पेश गर्न थालेपछि समानुपातिकको सूचीलाई अन्तिम रुप दिन काँग्रेसलाई हम्मे–हम्मे परेको हो ।

शीर्ष नेताहरुले प्रत्यक्ष तर्फ आफू उठेका क्षेत्रमा आधा दर्जन नेतालाई समानुपातिकको सूचीमा राखेर आफूलाई सजिलो बनाएका थिए ।

सभापति कोइराला, नेता देउवा र रामचन्द्र पौडेलले आफनो क्षेत्र र जिल्लाबाट आफ्ना पोल्टाका व्यक्तिलाई सभासद बनाउन चाहिरहेका छन् भने काँग्रेसका अन्य नेताहरुले निर्वाचन ऐनको मापदण्ड र आफनो पार्टी पराजित भएका जिल्लाको प्रतिनिधित्व गराउन दबाब दिँदै आएका छन् ।

मुख्य विवाद के हो ?
१. संविधानसभाको दोस्रो निर्वाचनको नतिजा अनुसार २१ वटा जिल्लामा प्रत्यक्षतर्फ काँग्रेसको प्रतिनिधित्व छैन । एउटा पक्षले यी जिल्लाहरुबाट कम्तिमा १ जना सभासद चयन गर्नुपर्ने लबिङ गरिरहेका छन् ।

२. काँग्रेसमा एकाथरी नेताहरुले पार्टीको आधिकारीक उम्मेदवारलाई जिताउन महत्वपूर्ण भुमिका खेलेका र पार्टीमा लामो समयसम्म योगदान गरेका नेताहरुलाई छुटाउन हुँदैन भनेर शीर्ष नेताहरुलाई दवाव दिइरहेका छन् ।

३. पार्टी सभापति सुशिल कोइराला पक्षबाट ६० प्रतिशत र वरिष्ट नेता शेरबहादुर देउवा पक्षबाट ४० प्रतिशत सभासद चयन गर्ने सहमति भएपनि अहिले आएर अन्य उपगुटहरुले पनि आफ्नो पक्षका धेरै नेतालाई समावेश गराउन दवाव दिइरहेका छन् ।

४. निर्वाचनमा अन्तरघात गरेको आरोपमा समानुपातिको सूचीमा परेका ३२ जना विरुद्ध केन्द्रीय समितिमा उजुरी परेको छ । उनीहरुलाई कारवाही गर्नुपर्ने र कुनैपनि हालतमा सभासद बनाउन नहुने भन्नेहरुको संख्या बाक्लै छ । तर, उनीहरुले अन्तरघात गरेका हुन् कि होइनन् ? यदि हो भने कस्तो कारबाही गर्ने यस विषयको निधो भइसकेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us