अपहरणकारी पुर्पक्षका लागि थुनामा

काठमाण्डु टुडे २०७० पुष ९ गते ७:२१ मा प्रकाशित

apaharn_बागलुङ, ९ पुस – बागलुङ नगरपालिका–२ का ११ वर्षीय बालक एविन कँडेलको अपहरणमा संलग्न अभियुक्तलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । रौतहट जिल्ला, पिप्रा भगवानपुर गाविसका २५ वर्षीय दिपेन्द्र बैठालाई जिल्ला अदालत बागलुङले पुर्पक्षका लागि थुनामा पठाएको हो ।

जिल्ला न्यायाधीश जगतप्रसाद श्रेष्ठको एकल इजालसले सोमबार थुनामा राख्न आदेश दिएको हो । बैठाले मंसिर २ गते अपराह्न ४ बजे बागलुङ सदरमुकामबाट बालकको अपहरण गरेका थिए । एक करोड फिरौती माग गरेका बैठा मंसिर ७ गते बालकसहित रौतहटमै पक्राउ परेका थिए ।

बैठाले अपहरणपछि पटक–पटक फोन सम्पर्क गरी अभिभावकसँग फिरौती मागेका थिए । उनले पोखरा, नारायणगढ हुँदै बालकलाई रौतहट पु¥याई आफ्नै घरमा राखेको प्रहरीले जनाएको छ । प्रहरीले विशेष खोजतलास र कारबाहीबाट अभियुक्त बैठालाई बालकसहित रौतहटबाटै पक्रन सफल भएको थियो ।

त्यस्तै अपहरणमा संलग्न रहेको आशंकामा पक्राउ परेका पोखरा उपमहानगरपालिका–६ बैदामका दिनदयाल पाण्डे ५० हजार धरौटीमा रिहा भएका छन् ।

बैठाकी कान्छी श्रीमती शान्त वि.क. बैठालाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएपनि धरौटी बुझाउने रकम नभएपछि उनी पनि कारागर गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पाण्डे पोखरामा मोटरसाइकल व्यापारी हुन् । बैठाले बालक अपहरणका क्रममा उनकै पसलको मोटरसाइकल प्रयोग गरेका थिए ।

प्रहरीले बैठाका बुबा, दाजु र जेठी श्रीमतीमाथि पनि अपहरणमा संलग्न रहेको आरोपसहित मुद्दा चलाएको छ । उनीहरु तीनै जना भने फरार रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले बताए ।

घटनाबारे थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us