
काठमाण्डु, ९ पुस – निर्वाचनमा धाँधली भएको भन्दै संविधानसभामा जान अस्वीकार गर्दै आएका एकीकृत नेकपा माओवादीलगायतका दलले संविधानसभामा जाने निर्णय गरेका छन् ।
एमाओवादीको केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको असन्तुष्ट १८ दलको संयुक्त बैठकले संविधानसभामा सहभागी हुने निर्णय गरेको हो ।
बैठकपछि एमाओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले काँग्रेस–एमालेसँग बिहान भएको समझदारी सकारात्मक भएको निष्कर्ष निकालेको जानकारी दिए ।
यस्तै सद्भावना पार्टीका सञ्जयकुमार गुप्ताले तीन दलबीच भएको सहमति सकारात्मक भएको बताए । उनले भने, ‘अब सहमतिको प्रक्रिया अघि बढेको छ, बिहान तीन दलबीच भएको सहमतिलाई मोर्चाले समर्थन ग¥यो ।’ साथै उनले समानुपातिक सभासदको सूची बुझाउने म्याद थप्नु पर्ने बताए । ‘अब समानुपातिक सूची पठाउने प्रक्रिया सुरु हुन्छ, उनले भने, ‘त्यसका लागि निर्वाचन आयोगले म्याद थप गर्नुपपर्छ ।’
बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमद दाहाल प्रचण्डले तीन दलको बैठकमा भएको छलफल र सहमतिको बारेमा व्रिफिङ गरेका थिए ।
सो अवसरमा साना दलहरुले सहमति सकारात्मक भएको भन्दै सबै मिलेर जानुपर्ने बताएका छन्। केही दलले भने चुनावमा भएको धाँधलीको छानविन गर्न संसदीय समिति नभएर सर्बदलीय समिति बनाउनु पर्नेमा जोड दिएको बताइएको छ ।
बिहान तीन दलका शीर्ष नेताहरुको बैठकमा दोस्रो संविधानसभा निर्वाचनमा भएको भनिएको धाँधली छानविन गर्न संविधानसभाबाट राजनीतिक समिति बनाउने लगायत समझदारी भएको थियो ।
यसअघि एकीकृत माओवादी सहितका दलले निर्वाचनमा संस्थागत, संरचनागत र नीतिगत रुपमा धाँधली भएको भन्दै छानविन नभएसम्म संविधानसभामा नजाने निर्णय गरेका थिए ।
एकीकृत माओवादीले नेतृत्व गर्दै आएको संघीयता पक्षधर दलहरुको बैठकमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार पनि सहभागी थिए । निर्वाचन परिणाम पछिका बैठकमा सहभागी नभएका गच्छदार निर्वाचन पछि पहिलो पटक बैठकमा गएका हुन् ।
माओवादी नेतृत्वको गठबन्धनमा मधेसी जनअधिकार फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, संघीय समाजवादी पार्टी लगायत दलहरु आबद्ध छन् । संघीयता पक्षधर दलहरुको बैठक लगत्तै एकीकृत माओवादीको पूर्व पोलिटव्युरो समितिको बैठक समेत बसेको थियो ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुख्य तीन दलको बैठकमा विहान भएको सहमतिबारे जानकारी गराएका थिए ।