स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनमा आउँदै

काठमाण्डु टुडे २०७० पुष ९ गते ५:२७ मा प्रकाशित

काठमाण्डु, ९ पुस–स्वास्थ्य बीमा कार्यक्रमले समेटिने क्षेत्र तथा नीतिलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अन्तिम चरणमा पुर्याएको छ । चालु आर्थिक वर्षमा सरकारले १५ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्नेगरी बजेट वक्तव्यमा सार्वजनिक गरे पनि मन्त्रालयले पाँच जिल्लाबाट पहिलो चरणमा नमुनाका रूपमा यो कार्यक्रम लागू गर्ने भएको छ ।

‘सबै विकास क्षेत्रलाई समेटी जिल्ला छनोटको आधार तथा नीतिसमेत तयार भइसकेको छ र अर्काे महिनाबाट बीमा कार्यक्रम लागू भएको सार्वजनिक गर्दैछौं,’ मन्त्रालका सचिव डा. प्रवीण मिश्रले भने, ‘पाँच वर्षभित्रमा सबै जिल्लामा बीमाको कार्यक्रम लागू गर्ने तयारीमा छौं ।’

बीमा कार्यक्रम कार्यान्वयनका लागि चालु आर्थिक वर्ष १५ करोड रुपैयाँ विनियोजन गरिएको छ । आधारभूत स्वास्थ्यलाई मौलिक हकमा अन्तरिम संविधानमा समावेश भएपछि सरकारले बीमाको कार्यक्रम पहिलोपटक कार्यान्वयनमा ल्याउन लागेको हो । अर्थ मन्त्रालयले बीमा कार्यक्रमलाई तत्काल कार्यान्वयनमा ल्याउन स्वास्थ्य मन्त्रालयलाई आग्रहसमेत गरेको छ ।

साथै, निःशुल्क स्वास्थ्य कार्यक्रमअन्तर्गत प्राथमिक स्वास्थ्य चौकी तथा जिल्ला अस्पतालबाट प्रदान गरिने सबै सेवालाई निःशुल्कसमेत गरिएको छ । साथै विभिन्न ४२ प्रकारका औषधिसमेत निःशुल्क वितरण हुँदै आएका छन् । सबै उपस्वास्थ्य चौकीलाई स्वास्थ्य चौकीमा स्तरोन्नति गर्ने नीतिअनुरुप चालु आर्थिक बर्षमा ५०० उपस्वास्थ्य चौकीलाई स्वास्थ्य चौकीमा स्तरोन्नति गरिसकिएको मन्त्रालयले जनाएको छ ।

यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्यान्सर रोग पहिचानका लागि अति आवश्यक पेटस्क्यान मेसिन खरिदका लागि सहमति दिन अर्थ मन्त्रालयसँग आग्रह गरेको छ । मन्त्रालयले आन्तरिक स्रोत नै परिचालन गरी मेसिन खरिद प्रक्रिया अगाडि बढाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us