बहुउपयोगी खयर लोप हुँदै

काठमाण्डु टुडे २०७० पुष ९ गते ३:५९ मा प्रकाशित

Khayarगाईघाट, ९ पुस–उदयपुर जिल्लाको विभिन्न स्थानका वनजङ्गलमा पाइने बहुउपयोगी खयरका रूख अवैध काठ तस्करी र वन फँडानीका कारण लोप हुँदै गइरहेको छ । कुनैबेला उदयपुर जिल्लाको कुल वन क्षेत्रहरुमध्ये झन्डै २० प्रतिशत भाग खयरले ढाकेको भएता पनि केही वर्षयता बढ्दो तस्करीले खयरका रुखहरु हराउँदै जान थालेको हो ।

मुख्य गरेर जिल्लाको बाँसबोटे क्षेत्रको सुनकोसी किनार, आँपटार गाविसको सुनकोसी किनारलगायत तपेस्वरी तथा रामपुर ठोक्सिलाको कोसीटप्पु क्षेत्र, मैनामैनी तथा जिल्लाको पश्चिमी भेगको रिस्कु, त्रिवेणी क्षेत्रको जङ्गलमा पाइने खयरका रूख हिजोआज जङ्गलबाट एकाएक सखाप भइरहेका छन् ।

अवैध काठ तस्करी बढ्दै जान थालेका कारण र खयर भएका क्षेत्रहरु धमाधम फँडानी गरेर मानव बस्ती विस्तार हुन थालेपछि खयरका रूखहरु जङ्गलमा खोजेर पनि पाउन मुस्किल हुन थालेको उदयपुर रामपुर ठोक्सिलाका जङ्गबहादुर भुजेल बताउँछन् ।

भुजेल भन्छन्, ‘केही वर्षअघिसम्म खयरका रूख जङ्गल नदी किनारभरि प्रशस्त हुन्थे, हेर्दाहेर्दै खयरका रूख कटान हुने, फँडानी हुने कार्यले खयरका बोट नै पाउन छाडिसक्यो ।’

उदयपुरको मैनामैनी क्षेत्रको सप्तकोसी किनारमा पाइने खयर तथा ठोक्सिला जङ्गल क्षेत्रको खयर अवैधरुपमा कटान गरेर रातारात सप्तकोसी हुँदै तस्करहरुले सप्तरीको भारदह कटाएर भारतसमेत लैजाने गरेको स्थानीयको भनाइ छ । गाउँ–गाउँमा खयर किन्न बाहिरबाट काठ गिरोहहरु यहाँ आउने गर्छन् । उनीहरुकै कारण खयर तीव्ररुपमा कटान भएपछि अहिले उदयपुरको रिस्कु क्षेत्रको जङ्गलको खयरसमेत समाप्त भइसकेको स्थानीय हर्कबहादुर मगरको भनाइ छ ।

जिल्ला वन कार्यालयको समेत खयर संरक्षणमा उचित ध्यान नजानु र स्थानीय वन उपभोक्ता समितिका कतिपय मानिस नै अवैध खयर फँडानी गरेर रातारात कमाउधन्दामा लागेपछि उदयपुरको अधिकांश खयर नै लोप हुने अवस्थामा पुगेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us