अखण्ड अग्नि जोगाउन मुस्किल

काठमाण्डु टुडे २०७० पुष ९ गते ३:०४ मा प्रकाशित

दमक, ९ पुस–आवश्यक दाउराको जोहो गर्न नसक्दा पूर्वकै धार्मिक पर्यटकीय क्षेत्र कन्काई माई नदीको तटमा अवस्थित कोटीहोममा ३० वर्षदेखि बल्दै आइरहेको अखण्ड अग्नि जोगाउन मुस्किल भएको छ । दाउरा अभावका कारण कोटीहोमको चिनारी अहिले लोप हुने अवस्थामा पुगेको हो ।

विसं. २०४२ मा योगी नरहरिनाथले यही स्थानमा विश्वकल्याण कोटीहोम महायज्ञ लगाई एक करोड गायत्री मन्त्रोच्चारण गर्दै हवन गरेका थिए । सो अग्निमा एक करोड पटक हवन गरिएका कारण धार्मिकस्थलको नामसमेत कोटीहोम रहन गएको विश्वास छ । सोही मितिदेखि आजसम्म कन्काई धाम धार्मिक विकास संस्थाको संरक्षणमा सो अग्निमा दैनिक हवन गरिँदै आएको छ । अग्निलाई संस्थाले आजसम्म निभ्न नदिएको संस्थाका महासचिव गंगाराम दाहाल बताउछन् ।

दैनिक हवन गर्न र अग्निलाई जोगाई राख्न संस्थालाई मासिक पाँच क्विन्टल दाउराको आवश्यकता पर्ने मन्दिरका मूल पुजारी शिरोमणि दाहालको भनाइ छ । ‘हाल कोटीहोम धार्मिक परिसरमा रहेका सबै दाउरा बालिसक्यौं, अब अग्निलाई कसरी जोगाइराख्ने भन्ने समस्या भएको छ,’ पुजारी दाहालले भने ।

यसअघि दाउराका लागि कन्काई सामुदायिक वन समूहसँग सहयोग माग्दै आइरहेकामा हाल यो वन समूहमा आन्तरिक विवादका कारण दाउरा माग्न मिल्ने अवस्था छैन ।

हाल मूल अग्नि रहेको स्थानमा दाताहरुको सहयोगमा मूल मन्दिर कोटियेश्वर शिव पाञ्चायन मन्दिर निर्माण गरिएको छ भने मन्दिरमा वार्षिक लाखौंको संख्यामा भक्तजन पूजाका लागि आउने गरेका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us