‘आर्थिक क्रान्तिको लक्षण देखिइसक्यो’

काठमाण्डु टुडे २०७० पुष ९ गते ३:०० मा प्रकाशित

DSC01066काठमाण्डु, ९ पुस–अर्थमन्त्री शंकरप्रसाद कोइरालाले आयात र निर्यातको कहालीलाग्दो खाडललाई पुर्न आन्तरिक उत्पादनको सबलीकरण एकमात्र विकल्प भएको बताएका छन् ।

छालाबस्तु संघको दशौं राष्ट्रिय प्रदर्शनीलाई मंगलबार काठमाण्डुमा उदघाटन गर्दै मन्त्री कोइरालाले सरकार र निजीक्षेत्र कार्ययोजना बनाएर अघि बढ्न आवश्यक रहेकोमा जोड दिए ।

उनले सरकारी निकायमा स्वदेशी वस्तुको उपयोग गर्ने कार्यनीति रहेपनि पालना नभएको बताउँदै यसलाई प्रभावकारी कार्यान्वयनमा लैजाने उपायका विषयमा आफू छलफल गर्न तयार रहेको प्रष्ट गरे । व्यवसायीहरुको हितका लागि सरकारले विराटनगर, भैरहवा, पाँचखालमा विशेष आर्थिक क्षेत्र घोषणा गरेर काम अघि बढाएको जानकारी दिँदै उनले ती ठाउँमा छाला बस्तु उत्पादनका लागि के गर्न सकिन्छ, आफू त्यसमा सकारात्मक रहेको बताए ।

‘अबका ५ या १० वर्षभित्र छालाजन्य उत्पादनमा आत्मनिर्भर हुन हामीले चाल्ने बाटाहरु के के हुन ? त्यसमा सरकारको भूमिका के रहन्छ ? जुत्ता बनाउन चाहिने कच्चा पदार्थको स्वदेशमै उत्पादन र जनशक्तिको अभाव कसरी पूरा गर्न सकिन्छ ? यस विषयमा कार्ययोजना लिएर आउनुस्,’ मन्त्री कोइरालाले भने, ‘सरकारको संरक्षण, संवद्र्धन र प्रवद्र्धन विना निजीक्षेत्र अघि बढ्न सक्दैन । यी दुईको सहकार्य सहितको सहयात्राबाट मात्र आर्थिक क्रान्तिको बाटो सहज हुन्छ । जसको लक्षण अहिले देखिन थालेको छ ।’

कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यले चोरी पैठारी नियन्त्रण नभएसम्म राष्ट्रिय उत्पादनले प्रतिस्पर्धा गर्न नसक्ने भन्दै कच्चा पदार्थको आयातमा भारी छूट दिन आग्रह गरे । १७ वटा स्टलबाट प्रदर्शनी आरम्भ गरेको संघले एक दशकभित्र ९० स्टल बनाएकोमा उनले खुसी प्रकट गर्दै गरे ।

उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रदीपजंग पाण्डे स्वदेशी बस्तुको पहिचानका लागि सरकारले गरेको प्रोत्साहन सकारात्मक रहेको भन्दै यसबाट निजीक्षेत्र उत्साही भएको जानकारी गराए ।

कार्यक्रममा संघका अध्यक्ष होमनाथ उपाध्याय, हस्तकला महासंघका उपाध्यक्ष धर्मराज शाक्य र व्यापार प्रवद्र्धन संघका अध्यक्ष तेजसिंह विष्टले उर्जा, जनशक्ति र खुल्ला सीमाका कारण स्वदेशी उत्पादन फस्टाउन नसकेको गुनासो गरेका थिए ।

‘स्वदेशी उत्पादनहरुको पहिचानका लागि सामूहिक व्यापार चिन्ह’ नारासाथ शुरु भएको प्रदर्शनी पुस १५ सम्म चल्नेछ । काठमाण्डुको राष्ट्रिय सभागृहमा जारी प्रदर्शनीमा प्रवेश निःशुल्क छ भने समान किन्दा १५ प्रतिशतसम्म छुट पाइने छ ।
नेपालमा ७ सयभन्दा बढी छालाजन्य वस्तु उत्पादन गर्ने उद्योगहरु छन् । नेपालमा उत्पादित जुत्ताले आन्तरिक उपभोगमा झण्डै ६० प्रतिशत हिस्सा धानेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us