रेल लिक राख्न सर्भे

काठमाण्डु टुडे २०७० पुष ९ गते १:५३ मा प्रकाशित

जनकपुरधाम, ९ पुस–भारतको जयनगरदेखि महोत्तरीको बर्दिवाससम्म ब्रोडगेज निर्माण गर्नेक्रममा नेपाल–भारतका इन्जिनियरहरुको संयुक्त टोलीले धनुषाको महुवामा संयुक्त सर्भेक्षण गरेको छ । पूर्वी धनुषाको महुवा गाउँ विकास समति–४ स्थित हनुमान मन्दिरदेखि जनकपुर नगरपालिका–१६ स्थित माता चण्डीमाता फुलमन्ती देवी स्थानसम्म करिब एक किलोमिटरको दूरीमा सिधा रेल लिक राख्नेबारे संयुक्त सर्भे गरिएको हो ।

सो क्षेत्रमा बढी घुम्ती भएकाले ठूलो तथा सुविधासम्पन्न रेललाई आवतजावत गर्न समस्या हुने भएकाले सिधा रेल लिक बिछ्याउन सो सर्भे गरेको प्रतिनिधिको भनाइ छ ।सर्भे टोलीमा नेपाल रेल विभागका सिनियर डिभिजनल इन्जिनियर टेकराज बोहरा तथा भारत सरकारको ठेकेदार कम्पनी इरकनका इन्जिनियर अरुणकुमार प्रभाकरसहितका प्राविधिकहरु संलग्न थिए ।

भारतको जयनगरदेखि बर्दिवाससम्म ६९ किलोमिटर ब्रोडगेज लिक बिछ्याइँदैछ । पहिलो चरणअन्तर्गत ६० करोड भारतीय रुपैयाँको लागतमा पुलपुलेसा निर्माण तथा माटो भर्ने काम हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us