
काठमाण्डु, ८ पुस–एकीकृत नेकपा माओवादीले पार्टी संगठन सानो र चुस्त बनाउने तयारी गरेको छ । ठूला र भद्दा आकारको संगठनले कार्य सम्पादनमा पनि समस्या परेको ठहर सहित एकीकृत माओवादीले सानो र चुस्त बनाउने तयारी गरेको हो ।
केन्द्रीय समिति बैठकको तयारीबारे सोमबार पूर्व पोलिटव्युरो सदस्यहरुसँग केन्द्रीय कार्यालयले गरेको छलफलमा अधिकांश नेताहरुले ठूला कमिटी भंग गरी साना कमिटी बनाउनु पर्ने सुझाव दिएको प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए । ‘कतिपयले भद्दा भयो, आन्तरिक प्रतिस्पर्धाबाट पार्टी कमिटी बनाउनु पर्छ भन्नु भएको छ,’ सापकोटाले भने ।
उनीहरुले आगामी दिनमा नेताहरु कार्यकर्तासम्म र कार्यकर्ता जनतासम्म जाने गरी कार्यक्रम बनाउन पनि नेतृत्वलाई सुझाव दिएका छन् । बैठकमा नेताहरुले प्याकेजमा सहमति नभएसम्म समानुपातिकको सभासदको सूची नबुझाउन पनि सुझाव दिएको प्रवक्ता सापकोटाले जानकारी बताए ।