
काठमाण्डु, ८ पुस–कर्तब्य ज्यान मुद्दा फिर्ता लिने तत्कालीन माओवादी नेतृत्वको सरकारले गरेको निर्णय सर्वोच्च अदालतले सोमबार खारेज गरेको छ । न्यायाधीशद्वय प्रकाश वस्ती र सुशीला कार्कीको संयुक्त इजलाशले एक बर्ष अघि सरकारले गरेको निर्णय बदर गरिदिएको हो ।
तीनबर्ष अघि बाबुराम भट्टराई नेतृत्वको सरकारले सिराहाका भोलाइ साह तेलीको हत्यामा संलग्न भएको अभियोगमा स्थानीय हृदय नारायण कामैद सहित १३ जनाविरुद्ध जिल्ला अदालत सिराहामा दायर मुद्दा फिर्ता लिएको थियो ।
सर्वोच्चको फैसलामा प्रतिवादी फरार रहेको हत्या पनि नियतबस भएको देखिएकोले मुद्दा फिर्ता लिने सरकारको निर्णय खारेज भएको उल्लेख छ ।
सिराहा मझौरा ८ का मृतक भोलाइ साह तेलीका छोरा खुशीलालको जाहेरीको आधारमा प्रहरीले २०६७ भदौ १३ गते कामद सहित १३ जनाविरुद्ध कर्तब्य ज्यान मुद्दा दायर गरेको थियो । तर, तत्कालीन गृहमन्त्री विजय कुमार गच्छदारले पेश गरेको सिफारिस अनुसार मन्त्रिपरिषद बैठकले मुद्दा फिर्ता लिने निर्णय गरेको थियो ।
सरकारको सो निर्णय विरुद्ध मृतकका छोरा खुशीलालले २०६९ सालमा सर्वोच्चमा रिट दायर गरेका थिए ।