
काठमाण्डु, ८ पुस । गृह मन्त्रालयले यस वर्षको जाडो मौसममा देशका विभिन्न स्थानमा शीतलहरबाट मानवीय क्षति हुन नदिन पूर्व सतर्कता अपनाएको जनाएको छ ।
सञ्चारमन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा गृहले सबै जिल्लामा सरोकारवाला निकायको सम्पर्क व्यक्ति तोकेको र पूर्व तयारीका लागि दैवी प्रकोप उद्धार समितिलाई आवश्यक निर्देशन दिएको जनाएको छ ।
कार्यक्रममा अध्यागमन प्रणालीको सुधारका लागि अध्यागमन प्रशासनको आधुनिकीकरण योजना तर्जुमा गरी स्वीकृतिका लागि प्रक्रिया अगाडि बढाएको, भिसा आवेदनका लागि अनलाइन सेवा प्रारम्भ गरिएको जानकारी दिइएको छ ।
सम्पत्ति शुद्धीकरण (निवारण) ऐन २०६४ बमोजिम सूचीकृत आतङ्ककारी व्यक्ति, समूह वा सङ्गठनको सम्पत्ति रोक्का आदेश जारी गरी मन्त्रालयको वेभसाइटमा राखिएको, राजस्व भन्सार तथा औद्योगिक सुरक्षासम्बन्धी निर्देशिका,२०७० स्वीकृत भई लागु गरिएको समेत सो अवसरमा बताइएको थियो ।
सशस्त्र प्रहरी बलको सेवामा नियुक्ति र बढुवा गर्दा अपनाउनुपर्ने सामान्य सिद्धान्त, २०६४ को तेस्रो संसोधन लोकसेवा आयोगबाट स्वीकृत भएको सरकारले जनाएको छ ।