पूर्व राजपरिवारको नाममा थप जग्गा भेटियो

काठमाण्डु टुडे २०७० पुष ८ गते ११:४४ मा प्रकाशित

birendraकाठमाण्डु, ८ पुस – नेपाल ट्रष्टले पूर्वराजा वीरेन्द्र शाहको नाममा रहेको करिब साढे पन्ध्र हजार रोपनी नयाँ जग्गा पत्ता लगाएको छ । सूचना तथा सञ्चार मन्त्रालयमा सोमबार प्रवक्ता–पत्रकार भेटघाट कार्यक्रममा दिइएको जानकारी अनुसार नुवाकोट र धादिङमा करिव साढे पन्ध्र हजार रोपनी जग्गा पत्ता लागेको छ ।

धादिङको छत्रेदेउराली गाविस वडा नं ८ मा पन्ध्र हजार १ सय १ रोपनी र नुवाकोट जिल्लामा थानसिंह गाविस वडा नं १ मा १ सय ७२ रोपनी जग्गा पाइएको र ती जग्गालाई ट्रष्टको नाममा ल्याउने पहल भइरहेको बताइएको छ ।

ट्रष्टमा हालसम्म पूर्वराजा वीरेन्द्र र राजपरिवारका अन्य सदस्यको सम्पत्तिमध्ये २३ करोड ४८ लाख तीन हजार नगद जम्मा हुन आएको सो अवसरमा जानकारी दिइएको छ ।

त्यसैगरी नविल बैंक, अन्नपूर्ण होटल र नेपाल औद्योगिक विकास निगममा गरी उनीहरुको नामका एक लाख ६६ हजार ५८२ कित्ता सेयर पाइएको छ ।
सम्पत्तिको उपयोग गर्न गोकर्णको एघार सय रोपनी र काभ्रे पाँचखालको आठ रोपनी जग्गाको विज्ञ परामर्शदाताबाट अध्ययन भइरहेको छ ।

त्यसैगरी सम्पत्ति संरक्षण अन्तर्गत ताहाचलको जग्गा, हेटौँडाको कान्ति ईश्वरी गृह, चितवनको दियालो बङ्गला अगाडिको जग्गा, गोकर्णका जग्गामा पर्खाल निर्माण तथा मर्मत कार्य सुरु भएको ट्रष्टले जनाएको छ ।

यस्तै पोखरा रत्न मन्दिर र सल्लाघारीको जग्गामा पर्खाल निर्माणको ठेक्का स्वीकृत गर्न लागिएको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us