
काठमाण्डु, ८ पुस । ब्लड डोनर्स एसोसिएसन (ब्लोदान)ले आफूले पनि रगत संकलन तथा वितरण गर्न पाउनुपर्ने माग गरेको छ । हाल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल रेडक्रस सोसाइटीलाई मात्र रगत सङ्कलन तथा वितरणको जिम्मेवारी दिएको छ ।
बिरामीको आफन्तले भनेको समयमा रगत पाउन र रगतको अभाव नहोस् भन्नाका लागि रगत सङ्कलनका क्षेत्रमा रेडक्रस सोसाइटीलाई सहयोग पु¥याउँदै आएको ब्लोदानले छिटोभन्दा छिटो रगतसम्बन्धी नयाँ नीति ल्याउन मन्त्रालयसँग आग्रहसमेत गरेको छ ।
गत जेठ ३० र ३१ गते काठमाडाँैमा सम्पन्न प्रथम रक्त सम्मेलनको प्रतिवेदन मुख्य सचिव लीलामणि पौडेललाई सोमबार हस्तान्तरण गर्दै रगतको अभाव हुन नदिन रगत वितरण कार्य सामाजिक संघ संस्थालाई पनि प्रदान गर्न ब्लोदानले माग गरेको हो ।
संविधानसभाको निर्वाचनका समयमा उपत्यकामा देखिएको रगतको अभावलाई पूरा गर्न ब्लोदानको आगुवाइमा आकस्मिक रक्तदान कार्यक्रम सञ्चालनमा ल्याएको थियो । हालैका २० दिनका बीचमा ब्लोदानले विभिन्न स्थानमा आयोजना गरेको रगत सङ्कलन कार्यबाट पाँच हजार युनिट रगत सङ्कलन गरी रगतको मागलाई केही अंशमा पूरा गर्ने कार्य गरेको थियो ।
सो अवसरमा मुख्य सचिव पौडेलले रगतको अभाव हुन नदिन सामाजिक संघ संस्थाले अहम् भूमिका निर्वाह गर्नुपर्ने भन्दै प्रतिवेदनले दिएका सुझावलाई कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने जानकारी दिए ।
ब्लोदानका अध्यक्ष महेन्द्रविलास जोशी र सदस्य विष्णु श्रेष्ठले प्रतिवेदन हस्तान्तरण गर्दै नयाँ रगत नीति ल्याउन माग गरे । गत वर्ष सङ्कलन भएका ६० हजार ६४९ युनिट रगतमध्ये अधिकांश स्वयम्सेवी रक्तदाताबाट नै सङ्कलन भएका थिए । रासस