‘चीन नेपालमा शान्ति, स्थायित्व र विकास चाहन्छ’

काठमाण्डु टुडे २०७० पुष ८ गते ९:५० मा प्रकाशित

काठमाण्डु, ८ पुस – चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय कमिटी अन्तर्राष्ट्रिय विभाग उपमहानिर्देशक राओ हुइहनाले नेपालको संघीयता र संविधान कस्तो हुने भन्ने कुरा स्वयम् नेपाली जनताको छनोटमा निर्भर रहने बताएका छन् ।

नेपालमा पछिल्लो समयमा धेरै राजनीतिक परिवर्तन आएको प्रसङ्ग उल्लेख गर्दै उनले नेपालीको आफ्नो छनोटमा छिमेकी मित्रका रुपमा चीनको सहयोग र समर्थन रहने बताए । चीनको नेपाल नीतिमा कुनै परिवर्तन नआएकाले कुनै पनि समस्यामा हस्तक्षेप नगर्ने नीति पनि यथावतै रहेको उनको भनाई छ ।

राजधानीमा सोमबार विभिन्न सञ्चार माध्यमका पत्रकारसँग कुरा गर्दै उपमहानिर्देशक हुइहानले चिनियाँ कम्युनिस्ट पार्टी, सरकार र जनताको नेपालमा राजनीतिक प्रक्रिया छिटो समाधान भएर नेपाल स्थायित्व, शान्ति र विकासको बाटोमा अघि बढोस् भन्ने चाहना रहेको प्रष्ट पारे ।

‘दुई मुलुकबीचको मैत्रीपूर्ण सम्बन्ध साझा हित, विकास र सहयोग सम्बन्धमा आधारित छ, प्रक्रिया सजिलो नभए पनि सबै पार्टीको हार्दिक इच्छा राजनीतिक स्थायित्व, विकास र जनजीवनमा सुधार गर्ने भएकाले सबैको सहमतिबाटै वर्तमान समस्याको पनि निकास निस्कनेछ,’ उपमहानिर्देशक हुइहानले भने ।

उनले नेपालको स्वतन्त्रता र सार्वभौमिकतामा चीनले सदैव सम्मान गर्ने गरेको दोहो¥याउँदै राजनीतिक प्रक्रियामा कुनै भूमिका नखेलेको प्रस्ट परे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us