ग्यास माग्दा प्रहरीको लाठी

काठमाण्डु टुडे २०७० पुष ८ गते ७:२५ मा प्रकाशित

कञ्चनपुर, ८ पुस – ग्यासको सहज आपूर्तिको माग राख्दै आन्दोलनमा उत्रेका विद्यार्थीमाथि प्रहरीले लाठी प्रहार गरेको छ ।

प्रहरीको लाठीबाट अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष पद्म जोशी र अनेरास्ववियुका जिल्ला सदस्य मदन चन्द घाइते भएका छन् । घाइते दुवै जनाको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ । दुवैको टाउको र पिठ्युँमा चोट लागेको छ ।

विद्यार्थी मूलढोकामा पुग्दा प्रहरी निरीक्षक पुष्कर चन्दले अन्धाधुन्ध लाठी प्रहार गरेको विद्यार्थी नेताहरुले बताएका छन् ।

विभिन्न पाँच विद्यार्थी संगठनले सोमबार बिहान १० बजे स्थानीय सिद्धनाथ बहुमुखी क्याम्पसबाट जुलुस निकालेका थिए । प्रशासन कार्यालय पुग्दा जुलुशमा सहभागी विद्यार्थीहरुले प्रशासनको मूल ढोकामा तोडफोड गर्न लागेको भन्दै लाठी प्रहार गरिएको थियो ।

यसैबीच विद्यार्थीहरुले विभिन्न ग्यास बिक्रेता डिलरहरुमा समेत छापा मारेका छन् । मनकामना, भेरी, रेडियन्ट र सिद्धार्थ ग्यासका बिक्रेता डिलरहरुमा छापा मारेको क्रान्तिकारीका नेता नवराज ऐरले जानकारी दिए । ऐरका अनुसार चारै ग्यास डिलरमा ग्यास भेटिएको छ ।

प्रहरीले भने लाठी चार्ज नगरेको बताएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख राजेन्द्र चौधरीले भिड नियन्त्रण गर्न खोज्दा सामान्य घकेलाधकेल मात्रै भएको बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us