एभरेष्ट इन्सुरेन्सका प्रवर्द्धक राजेन्द्र खेतान फरार

काठमाण्डु टुडे २०७० पुष ८ गते ६:१६ मा प्रकाशित
काठमाण्डु, ८ पुस–बीमा समितिको व्यवस्थापन समूहले उद्योगपति तथा एभरेष्ट इन्सुरेन्सका प्रवर्द्धक राजेन्द्र खेतानमाथि जालसाझि गरेर छ करोड रुपैयाँ ठगी गरेको आरोप लगाउँदै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)मा उजुरी गरेको छ । अघिल्लो साता सिंगापुरबाट काठमाडौं उत्रिएका खेतान सिआईबीले पक्राउ गर्ने सूचना पाएपछि सडकको बाटो भैरहवा हुँदै नयाँदिल्ली पुगेको स्रोतहरुले जानकारी दिएका छन् ।

बीमा समितिले हस्तक्षेप गरेर नियुक्त भएको नयाँ व्यवस्थापन समूहले एभरेष्ट इन्सुरेन्समा भएका घोटलाको छानविन गरेको थियो । छानविनका क्रममा व्यवस्थापन समूहले सिआईबीमा दुईवटा उजुरी दायर गरेको छ । साढे दुई करोड रुपैयाँ ठगी गरेको पहिलो उजुरीमा दुई दोषी तत्कालीन प्रमुख कार्यकारी अधिकृत केवलकृष्ण श्रेष्ठ र नायव महाप्रवन्धक अनिल ढुङ्गेल सिआईबी हिरासतमा छन् । यो प्रकरणमा संलग्न अन्य केही कर्मचारी सिआईबीको फरार सूचीमा छन् ।
एभरेष्ट इन्सुरेन्सले गरेको अर्को एउटा उजुरीमा खेतानले उधारोमा बीमा गराएर छ करोड रुपैयाँ दावी भुक्तानी लिएको बताइएको छ । बीमा समितिको नयाँ व्यवस्थापन समूहले खेतानमाथि मायोज चाउचाउ उत्पादन गर्ने हिमालयन स्न्याक्स एण्ड नुडल्स प्रा.ली.को बीमा दावी भुक्तानीमा घोटला गरेको आरोप लगाएको हो ।
मायोज कारखानामा आगो लाग्दा खेतान हिमालयन स्न्याक्सका अध्यक्ष थिए भने दावी भुक्तानी गर्ने एभरेष्ट इन्सुरेन्सको व्यवस्थापन कमिटि र बोर्डका अध्यक्ष पनि खेतान नै थिए । एभरेष्ट इन्सुरेन्सका तर्फबाट गरिएको उजुरीमा खेतानका १३ कैफियतहरु देखाइएको सिआईबी स्रोतले बिजमाण्डूलाई उपलब्ध गराएको प्रतिवेदनमा उल्लेख छ ।
के हो प्रकरण 
हिमालयन स्न्याक्सको मायोज उत्पादन को बनेपास्थित उद्योगमा ११ जुलाई २०११ मा आगलागि भएको थियो । आगलागि भएपछि खेतानले एभरेष्ट इन्सुरेन्सबाट चार करोड रुपैयाँ दावी भुक्तानी लिएका थिए । एभरेष्ट इन्सुरेन्सले बीमाशुल्क नलिई हिमालयन स्न्याक्सको बीमालेख जारी गरेको थियो । खेतानले दावी रकममा बीमा शुल्कको समायोजन गरिएको थियो । त्यसैगरी अभिकर्ता कमिशन पनि बीमाशुल्क समायोजन गरिएको दावी एभरेष्ट इन्सुरेन्सको छ । जतिबेला खेतानले एभरेष्टबाट दावी भुक्तानी लिए त्यतिवेला एभरेष्टमा तीन हजारभन्दा बढी दावी भुक्तानी पेन्डिङ्गमा राखिएको थियो ।
तर हिमालयन स्न्याकसको दावीको हकमा भने दावी परेकै दिन प्रारम्भिक सर्भे नियुक्त गरिएको थियो । प्रारम्भिक सर्भेयरले दुर्घटनाको भोलिपल्ट नै एभरेष्ट इनसुरेनसमा प्रारम्भिक प्रतिवेदन पेश गरेको थियो । प्रारम्भिक प्रतिवेदनमा जम्मा एक करोड भन्दा बढीको दावी अनुमान गरिएको थियो ।
एभरेष्टले विदेशी सर्भेयरलाई पुनर्बीमकमार्फत नियुक्त गरेकोमा त्यसका लागि बीमा समितिबाट स्वीकृती लिइएको थिएन् । विदेशी सर्भेयर नियुक्त गर्दा स्वदेशी सर्भेयरसँग संयुक्त रुपमा सर्भे गराउनुपर्ने व्यवस्था विपरित नियुक्त गरिएको एकल सर्भेयरले प्रतिवेदन दिएको थियो । ११ जुलाईमा भएको घटनामा विदेशी सर्भेयरले ३० जुलाईमा प्रतिवेदन दिएको थियो ।
विदेशी सर्भेयरले ३० जुलाईमा दिएको सर्भे रिपोर्टमा चार करोड अन्तरिम भुक्तानी गर्न सिफारिश गरिएको थियो । विदेशी सर्भेयरको प्रतिवेदन आउनु अघि नै २८ जुलाईमा खेतानले अन्तरिम समिति खडा गरी तीन करोड बराबरको रकम किस्तामा भुक्तानी गर्ने निर्णय गरेको कैफियतमा देखाइएको छ । तर खेतानले किस्तामा रकम भुक्तानी गर्ने निर्णय गरे पनि २८ जुलाईमा एकै पटक दुई करोड रुपैयाँ भुक्तानी लिएको सिआईबीलाई गरिएको उजुरीमा छ ।
दोस्रो ८ अगस्ट र तेस्रो किस्ता १८ अगस्टमा एक करोड रुपैयाँका दरले भुक्तानी भएको थियो । यसबाहेक पनि खेतानले एभरेष्ट इन्सुरेन्सबाट सन् २००६ देखि २०१२ को अवधिमा बीमालेखमा पैसा नतिरि एक करोड ९७ लाख रुपैयाँ दावी लिएको उजुरीमा छ । खेतानले यसरी लिएको दावी कानूनी रुपमा बीमा करार लागू नभएको (एबी इनिसिओ भोइड)का रुपमा मानिने भन्दै खेतानले एभरेष्ट इन्सुरेन्सलाई फिर्ता गर्नुपर्ने मागदावी व्यवस्थापनले सिआईबीलाई गरेको उजुरीमा छ ।
बीमित हिमालयन स्न्याक्स एण्ड नुडल्स् प्रा.लि.मा तत्कालिन संचालक समितिका अध्यक्ष खेतानको नीहित स्वार्थ रहेको र सोको बीमा कारोवार अन्तर्गत मायोजको बीमा कारोवार भएको दावी पनि कम्पनीको छ । खेतानको उजुरीमा बैक सहितको संयुक्त नाममा जारी गरिएको बीमालेख अन्तर्गत दावी परेमा दावी वापत प्राप्त हुने रकम भुक्तानी गर्दा बैक र ऋणी बीमितको संयुक्त नाममा दावी भुक्तानी पूर्जा जारी हुने व्यवस्था छ ।
दुवैको हस्ताक्षर भएपछि मात्र फष्ट लस पेयीका रुपमा बैकलाई नै भुक्तानी दिने व्यवस्था छ । बैकले मन्जुरीनामा दिएमा मात्र बीमितलाई बीमकले उक्त दावी रकम सोझै ऋणी बीमितलाई भुक्तानी दिन सकिने व्यवस्था रहेको छ । तर खेतानको दावीमा बैकले मञ्जुरी नगरेको र दावी भुक्तानी पूर्जामा सही समेत नगरेको स्रोतले दावी गरेको छ ।
स्रोतकाअनुसार हिमालयन स्न्याक्सले एभरेष्ट इन्सुरेनसमा कुन मितिमा बीमालेख प्राप्त गर्यो भन्ने विवरण पनि छानविनमा देखिएको छैन् । २५ जनवरी २०११ भन्दा अगाडीका विभिन्न बीमालेखका लागि नै हिमालयन स्न्याक्सबाट एभरेष्ट इन्सुरेन्सले ३६ लाख ३७ हजार ५३५ लिन बांकी रहेको थियो ।
सिआईबीमा बुझाएको उजुरीमा एभरेष्ट इन्सुरेन्सले उधारोमा जारी गरिएको बीमालेख बीमा ऐन, २०४९ को दफा, २७ बमोजिम जोखिम स्वीकार गरिएको नहुने र जोखिम स्वीकारै नभएको बीमाको दावी समेत नलाग्ने तथ्य रहेको स्पस्ट पारिएको छ ।
ठूलालाई चयन सानालाई जेल

विभिन्न शीर्षकमा गरैकानूनी ढंगले खर्च गरी कम्पनीबाट दुई करोड ५० लाख ८९ हजार रुपैयाँ खर्चको भुक्तानी लिएको आरोप लागेपछि एभरेष्ट इनसुरेन्सका तत्कालीन सिइओ केवलकृष्ण श्रेष्ठ र सहायक महाप्रवन्धक अनिल ढुङ्गेलले सिआईबीको हिरासतमा हावा खाइरहेका छन्
एभरेष्ट इन्सुरेन्सको यही काण्डको दोस्रो उजुरीमा श्रेष्ठ र ढुङ्गेल पक्राउ परेका हुन् । त्योभन्दा ठूलो ठगी र पहिलो उजुरीमा खेतान फरार छन् । उनलाई पक्राउ गरी छानविन गर्ने विषयमा सिआईबी समेत मौन रहँदै आएको छ । उजुरी परेको केही दिनपछि मात्रै खेतान काठमाडौंबाट सडकमार्ग भैरहवा हुँदै नयाँदिल्ली पुगेका छन् । खेतान पक्राउ नपरे पनि निर्णय प्रक्रियामा संलग्न भएको आरोपमा थप कर्मचारी तानिने सम्भावना छ । -बिजमाण्डु डटकमबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us