निजी विद्यालयको शुल्क बढ्ने

काठमाण्डु टुडे २०७० पुष ८ गते ९:५२ मा प्रकाशित

school-buildingकाठमाण्डु, ८ पुस–शिक्षा विभागमा रहेको केन्द्रीय शुल्क निर्धारण समितिले आगामी शैक्षिकसत्रका लागि निजी (संस्थागत) विद्यालयका लागि शुल्क वृद्धिको सीमा प्रस्ताव गर्न सरोकारवालासहितको कार्यदल गठन गरेको छ । कार्यदल गठनसँगै शुल्क वृद्धि गर्न खोजेका निजी विद्यालयले आउँदो शैक्षिकसत्रमा औपचारिक रुपमै शुल्क वृद्धि गर्न पाउने भएका छन् । सरकारी कर्मचारीको तलब वृद्धिसँगै चालु शैक्षिकसत्रमा पनि कतिपय निजी विद्यालयले सरकारको स्वीकृतिबिना शुल्क वृद्धि गरेको गुनासो आएको थियो ।

शिक्षा विभागका उपसचिव रामशरण सापकोटाको संयोजकत्वमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन (एन प्याब्सन), अभिभावक सङ्घका प्रतिनिधि र काठमाण्डु उपत्यकाका तीन जिल्लाका शिक्षा अधिकारी रहेको कार्यदल गठन गरिएको छ ।

बैठकमा सहभागी अभिभावक संघ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले कार्यदलले शुल्क सीमा, छात्रवृत्ति, अनुगमन, शिक्षक तलबलगायतका विषयमा अध्ययन गरी प्रतिवेदन पेस गर्ने जानकारी दिए ।

शिक्षा नियमावलीअनुसार शैक्षिकसत्रको तीन महिनाअघिदेखि निजी विद्यालयले सम्बन्धित जिल्ला शिक्षा कार्यालयमा शुल्क सीमा पेस गरी जिल्ला शुल्क निर्धारण समितिबाट अनुमोदन गराउनुपर्नेछ । त्यस्तो शुल्क केन्द्रीय निर्धारण समितिको मापदण्डको परिधिमा रही तय गर्नुपर्ने हुन्छ ।

निजी विद्यालयले आउँदो माघको पहिलो साता लिने तयारी गरेको एसएलसी टेष्ट परीक्षालाई आन्तरिक मूल्याङ्कनको मान्यताका आधारमा मात्रै सञ्चालन गर्न निर्देशन दिएको छ । सो परीक्षाका नाममा विद्यार्थी उत्तीर्ण वा अनुत्तीर्ण गराउन पाइने छैन । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us