
काठमाण्डु, ८ पुस–भ्रष्टाचार विरोधी अभियानबाट नयाँ शक्तिको रुपमा उदाएको भारतको आम आदमी पार्टीले नयाँदिल्लीमा सरकार बनाउने भएको छ । उसले काँग्रेसको समर्थनमा सरकार बनाउन लागेको हो । सरकार बनाउन काँग्रेसले विना सर्त समर्थन गर्ने लिखित प्रतिबद्धता जनाइसकेको छ ।
आम आदमी पार्टी (आप)का अध्यक्ष अरविन्द केजरीवालले सोमबार सरकार गठनको औपचारिक घोषणा गर्ने भारतीय सन्चार माध्यमले जनाएका छन् ।
यसअघि सो पार्टीले इन्टरनेट लगायतका माध्यमबाट गरेको मत सर्वेक्षणमा धेरैले सरकारको नेतृत्व गर्न सुझाव दिएका थिए ।
केजरीवालले आइतबार दिल्लीमा सार्बजनिक सम्वोधन गर्दै सरकारको नीति परिवर्तन गरेर भए पनि भ्रष्टाचारी नेताहरुलाई कारावास पठाउने घोषणा गरेका थिए ।
यसअघि भएको विधानसभा निर्वाचनमा एक बर्षअघि मात्रै गठन भएको आपले अप्रत्याशित नतिजा निकाल्दै दोस्रो ठूलो दल बन्न सफल भएको छ । केजरीवालले दिल्लीमा १५ बर्षसम्म सरकारको नेतृत्व गरेकी काँग्रेस नेतृ शिला दिक्षितलाई हराएका थिए । सबैभन्दा ठूलो दल बनेको भारतीय जनता पार्टी (भाजपा)ले ३१, आपले २६ र काँग्रेसले ८ सिट जितेका छन् ।