‘काँग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुबै पद पाउँदैन’

काठमाण्डु टुडे २०७० पुष ८ गते २:०० मा प्रकाशित

JN_khanal1काठमाण्डु, ८ पुस–नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले नेपाली काँग्रेसलाई राष्ट्रपति र प्रधानमन्त्री दुबै पद दिन नसकिने स्पष्ट पारेका छन् । काँग्रेसले दुबै पदमा दावी गर्नु लोकतन्त्रको सिद्धान्त विपरित हुने उनको धारणा छ । दोस्रो संविधानसभाबाट जनताले काँग्रेस बराबरको हैसियत एमालेलाई पनि दिएकाले सोही अनुसार शक्ति बाँडफाँट हुनुपर्ने खनालले तर्क गरे ।

‘काँग्रेसलाई राष्ट्रपति र प्रधानमन्त्री दुबै पद दिन सकिदैन,’ हिमालय टेलिभिजनलाई अन्तरवार्ता दिदै खनालले भने, ‘दोस्रो संविधानसभा चुनावबाट जनताले सबै दललाई आआफ्नो हैसियत दिएका छन्, त्यही अनुसार सरकार र संविधानसभामा पनि स्थान हुनुपर्छ ।’

उनले पद भागबन्डामा आफूहरु नलागेको दावी समेत गरे । आवश्यक परे एमाले प्रतिपक्षमा बस्न पनि तयार रहेको भन्दै खनालले काँग्रेस र एमाले मिलेर जानुको विकल्प नभएको जिकीर गरे । ‘एमाले र काँग्रेस विनाको सरकार बन्न हुँदैन । यदि त्यसो भयो भने विध्वंश हुन्छ र संविधान पनि बन्दैन,’ खनालले भने, ‘काँग्रेस र एमालेलाई मिल्न नदिनेहरुले षडयन्त्र गरिरहेका छन्, यसप्रति हामी चनाखो छौं ।’ षडयन्त्र गर्नेहरु को हुन् भनेर भने उनले खुलाएनन् ।

एमाओवादीको पनि जित हुने सहमति

उनले एकीकृत नेकपा माओवादीको समेत जित हुने गरी सरकार गठन र संविधानसभामा सहमतिको प्रयास भैरहेको जानकारी दिए । संयुक्त बैठक बसेर सबै दलको जित हुने गरी सहमति खोजिने उनको भनाइ छ । ‘सबैको ‘वीन’ ‘वीन’ हुनेगरी (जित्ने गरी) सहमति खोज्छौं,’ खनालले भने, ‘एमाओवादीले पनि जितेको महसुस हुने गरी टुंगोमा पुग्ने प्रयास भैरहेको छ ।’

उनले सबैले जित्ने गरी कसरी सहमति हुन्छ भन्ने कुरा अहिले खुलाउन नहुने पनि बताए । खनालले भने, ‘बैठकमा भएका सबै कुरा भन्न मिल्दैन, समय आएपछि सबै सार्बजनिक हुन्छ ।’ सोमबार बस्ने मुख्य तीन दलको बैठकमा पनि ‘सबैको जित हुने गरी’ सहमतिको प्रयास जारी राख्ने उनले जानकारी दिए ।

वैद्य माओवादीले काँग्रेसलाई भोट हाल्दा खनाल खुशी

एमाले अध्यक्ष खनालले चुनाव बहिस्कार घोषणा गरेको मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले नेपाली काँग्रेसलाई भोट हालेकोमा खुशी व्यक्त गरे । चुनावमा भाग लिएर लोकतान्त्रिक प्रक्रियामा सहभागी भएकोमा उनले वैद्य माओवादीलाई धन्यवाद दिए । ‘उहाँहरुले (वैद्य माओवादीले) चुनाव बहिस्कार नीतिमा मात्र गर्नुभयो, तर भोट हाल्न जानुभयो,’ खनालले भने, ‘उहाँहरुले काँग्रेसलाई भोट दिनुभयो । यसबाट मलाई के खुशी लागेको छ भने, उहाँहरुले लोकतान्त्रिक प्रवाहमा आउने प्रकृया शुरु गर्नु भएको छ ।’

चुनावमा धाँधली भएको स्वीकार
मंसिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा धाँधली भएको उनले स्वीकार समेत गरे । तर आमरुपमा शान्तिपूर्ण र निष्पक्ष चुनाव भएको खनालको भनाइ छ । ‘धाँधली कहिँ पनि भएन भन्न त मिलेन । छिटफुट घटना भएका छन् तर, आमरुपमा शान्तिपूर्ण नै रह्यो । चुनावमा भएका त्रुटीलाई आगामी दिनमा दोहोरिन दिदैनौं,’ एमाले अध्यक्ष खनालले भने । एकीकृत माओवादीले भनेजस्तो चुनाव छानविन आयोग गठन गर्न भने नसकिने उनले स्पष्ट पारे । संविधानसभामा गएर राजनीतिक ढंगको समिति बनाउन सकिने उनको स्पष्टोक्ति थियो ।

पार्टी अध्यक्ष पदको मोह

आगामी नवौं महाधिवेशनबाट फेरि पनि अध्यक्ष बन्ने उनले इच्छा व्यक्त गरे । आफू अध्यक्ष हुँदा एमाले दोस्रो ठूलो दल बन्न सफल भएको दृष्टान्त प्रस्तुत गर्दै खनालले अब पहिलो पार्टी बनाउन लाग्ने उदघोष गरे । ‘साथीहरुले फेरि पनि जिम्मा दिए पार्टीको नेतृत्व गर्न म सक्षम छु,’ खनालले भने, ‘एमाले तेस्रो पार्टीबाट दोस्रो ठूलो पार्टी बनेको छ, अब पहिलो पार्टी बनाइन्छ ।’

रुपन्देहीको बुटवलमा भएको आठौं महाधिवेशनमा नेता केपी ओलीलाई हराएर खनाल अध्यक्ष पदमा निर्वाचित भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us