सेनाले दुईवटा हेलिकोप्टर किन्ने

काठमाण्डु टुडे २०७० पुष ७ गते १३:४८ मा प्रकाशित

nepal-army-logoकाठमाण्डु, ७ पुस– नेपाली सेनाले दुई नयाँ हेलिकप्टर किन्ने भएको छ । सेनाले एमआई–१७–भी–५ हेलिकोप्टर खरिद प्रक्रिया अगाडि बढाएको हो ।

सेनालाई आवश्यक उक्त प्रकृतिको हेलिकोप्टर रुसमा मात्र उत्पादन हुने भएकाले नेपालस्थित रुसको राजदूतावासमार्फत खरिद प्रक्रिया अगाडि बढाइएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

उक्त हेलिकप्टर आपूर्ति गर्न अधिकार प्राप्त एक मात्र कम्पनी ‘रोसोबोरोनेक्सपार्ट’ सँग नेपाली सेनाले सम्झौता गरेको जनाएको छ । यसैगरी, प्रधानसेनापति गौरबशम्शेर जबराले रथी दर्जामा पदोन्नति भएका उपरथी प्रदीपविक्रम राणालाई रथीको दज्र्यानी चिन्ह प्रदान गरेका छन् ।

गत महिना रथी नेत्रबहादुर थापाले अवकाश प्राप्त गरेपछि रिक्त रथीमा उपरथी राणालाई मन्त्रिपरिषद्को बैठकले बढुवा गर्ने निर्णय गरेको थियो ।

यसैबीच, सैनिक अदालतले तत्कालीन उपरथी प्रेमप्रकाश थापामगर र तत्कालीन सहायक रथी हेम खत्रीमाथि गरेको फैसलाका विषयमा केही सञ्चार माध्यममा प्रायोजित तवरले सूचनालाई तोडमोड गरी गलत सूचना प्रवाह गरी नेपाली सेनाजस्तो गैरराजनीतिक, व्यावसायिक र राष्ट्रिय सुरक्षाको अभिन्न अंगमाथि प्रहार गर्ने प्रयास भएको सैनिक जनसम्पर्क निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us