सहमतीय सरकार गठनमा सहयोगको अपिल

काठमाण्डु टुडे २०७० पुष ७ गते १२:३६ मा प्रकाशित

NC-Flagकाठमाण्डु, ७ पुस –  नेपाली काँग्रेसले आफ्नो नेतृत्वमा सहमतीय सरकार गठनमा सहयोग गर्न दलहरुलाई अपिल गरेको छ ।

आइतबार सम्पन्न केन्द्रिय समिति बैठकले एक वर्ष भित्रैमा संविधान निर्माण कार्यलाई पूर्णता दिन संविधानसभाको ठूलो दलको हैसियतले आफ्नो नेतृत्वमा सरकार गठनका लागि सहयोग गर्न अपिल गरेको हो ।

बैठक पछि जारी विज्ञप्तिमा सबै राजनीतिक दलहरुसँगको वार्ता र संवादलाई सघन रुपले अघि बढाउने निर्णय भएको उल्लेख छ ।

एक वर्ष भित्रैमा संविधान निर्माण कार्यलाई पूर्णता दिन कार्यविधि सम्बन्धमा राजनीतिक दलहरुसँग छलफल तथा विगतको संविधानसभा नियमावली एवम् संविधानसभाले गरेका काम कारवाहीको समिक्षा गरी सुझाव पेश गर्न नरहरी आचार्यको सदस्यतामा चार सदस्यीय समिति समेत गठन गरिएको छ । समितिमा फरमूल्लाह मंसुर, भिष्मराज आङदम्वे तथा पार्वता डी.सी. चौधरी सदस्य छन् ।

साथै बैठकले निर्वाचन आयोगले दिएको समयसीमा भित्रै समानुपातिक तर्फको नामावली बुझाउने निर्णय पनि गरेको छ । काँग्रेसले केन्द्रीय समितिको बैठकमा नेताहरुले उठाएको कुरालाई मध्यनजर गर्दै समानुपातिक तर्फका सभासद चयन गर्ने जनाएको छ ।

बैठक पछि जारी विज्ञप्तिको पूर्ण पाठ:

पुस ७, २०७०
प्रेस विज्ञप्ति

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति सुशील कोइरालाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा आज बस्यो । समसामयिक राजनीतिक परिस्थितिका सम्बन्धमा पुस ३ गतेदेखि चलेको बैठकमा आज सभापति सुशील कोइराला, नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरु— गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, अर्जुननरसिंह के.सी., फरमूल्लाह मंसुर, पद्मनारायण चौधरी, आमोदप्रसाद उपाध्याय, बद्री पाण्डे, केशवकुमार बुढाथोकी र लक्ष्मी राईले आ–आफ्नो धारणा राख्नु भएको थियो । कार्यसमितिको बैठकको निर्णय देहाय बमोजिम छ—

१. संविधानसभा—संसदको निर्वाचन परिणामले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण गर्न राजनीतिक दलहरुका बीच समझदारी बनाएर कार्य गर्नु पर्ने भएको छ । त्यसैले नेपाली कांग्रेस सबै राजनीतिक दलहरुसँग सहमति र सहकार्य गर्दै एक वर्ष भित्रैमा संविधान निर्माण कार्यलाई पूर्णता दिन चाहन्छ । संविधानसभामा ठूलो पार्टीमा स्थापित भएको नेपाली कांग्रेसको नेतृत्वमा सहमतिको सरकार निर्माण गर्न यो बैठक सबै राजनीतिक दलहरुको सहमति र सहयोगका लागि आग्रह गर्दछ । सहमतिको सरकार बनाउने प्रयास सफल नहुने अवस्थामा मात्र बहुमतको सरकार बनाउनु पर्दछ भन्ने हाम्रो मान्यता रहेको छ । यसका लागि नेपाली कांग्रेसले सबै राजनीतिक दलहरुसँगको वार्ता र संवादलाई सघन रुपले अघि बढाउने निर्णय गर्दछ ।

२. एक वर्ष भित्रैमा संविधान निर्माण कार्यलाई पूर्णता दिन कार्यविधि सम्बन्धमा राजनीतिक दलहरुसँग छलफलका लागि “विगतको संविधानसभा नियमावली तथा संविधानसभाले गरेका काम कारवाही” को समिक्षा गरी सुझाव पेश गर्न निम्न प्रकार सुझाव समिति गठन गरियो ।
संयोजक — श्री नरहरि आचार्य
सदस्य — श्री फरमूल्लाह मंसुर
सदस्य — श्री भीष्मराज आङ्दम्वे
सदस्य — श्रीमती पार्वता डी.सी. चौधरी

दिलेन्द्रप्रसाद बडू
प्रवक्ता

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us