चितवनमा ११ गतेदेखि हात्ती महोत्सव हुने

काठमाण्डु टुडे २०७० पुष ७ गते ११:४० मा प्रकाशित

Elephantचितवन, ७ पुस– चितवनमा यही पुस ११ गतेदेखि १० औं अन्तर्राष्ट्रिय हात्ती मेला हुने भएको छ ।

पाँच दिनसम्म चल्ने महोत्सवमा हात्ती दौड प्रतियोगिता, हात्तीका छावाको फुटबल, हात्तीको शृङ्गार, टाँगा दौड, गाडा दौड, डुङ्गा दौड प्रतियोगिता आयोजना गरिने छ ।

साथै थारुलगायतका सांस्कृतिक कार्यक्रम, खाद्यान्न प्रदर्शनी र विविध मनोरञ्जनात्मक कार्यक्रम पनि गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सात वटा विदेशी संस्थाका साथै लाइन्स क्लब, व्यापारिक संस्थालगायत वाणिज्य बंैकगरी करिब बीस वटा टोलीले प्रतिस्पर्धा गर्ने र विजयी टोलीलाई नगद तथा कदरपत्र दिइने महोत्सवका संयोजक केशव पाण्डेले बताए ।

हात्तीको राजधानी भनेर चिनिएको चितवनमा महोत्सवका बेला यहाँ रहेका करिब १०० हात्तीलाई प्रदर्शनीमा ल्याइने होटल संघका सदस्य घनश्याम श्रेष्ठले बताए ।

एसियाको सर्वोत्कृष्ट राष्ट्रिय निकुञ्जमध्येको एक चितवन राष्ट्रिय निकुञ्जमा बर्सेनि ठूलो सङ्ख्यामा विदेशी पर्यटकहरू वन्यजन्तु, चराचुरुङ्गी र जैविक विविधताको अध्ययन र अवलोकन गर्न आउने गरेका छन् ।

यहाँका करिब १०० होटल र घरबास (होमस्टे)ले राम्रो व्यापार गरिरहेको छ । चितवन राष्ट्रिय निकुञ्ज विश्व सम्पदा सूचीमा सूचिकृत छ भने यहाँका सौराहा, माडी, थारु सङ्ग्रहालय, बाघमारा क्षेत्र पर्यटकीय गन्तव्यस्थल हुन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us