पाँच बुँदे मध्यपश्चिम लगानी घोषणापत्र जारी

काठमाण्डु टुडे २०७० पुष ७ गते ८:१५ मा प्रकाशित

सुर्खेत, ७ पुस – मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा सरकारले लगानी गर्न कन्जुस्याइँ गरेको भन्दै आर्थिक विकासका लागि पाँच बुँदे लगानी घोषणापत्र जारी गरिएको छ । सुर्खेतमा सञ्चालन भएको क्षेत्रीय व्यापार तथा पर्यटन मेलाको अवसरमा आयोजना गरिएको मध्यपश्चिम लगानी गोष्ठीले पाँच बुँदे घोषणापत्र जारी गरेको हो ।
पाँच वर्षभित्र सुर्खेतको पूर्वमा पर्ने रामघाट गाविसमा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्ने र दुई वर्षभित्रमा सुर्खेत मै जडीबुटी प्रशोधन केन्द्र निर्माण गरिसक्ने घोषणापत्रमा उल्लेख छ ।
यस्तै सुर्खेतको लखरपाटा र चौकुने सिमेन्ट उद्योगको निर्माण कार्य तत्काल सुरु गर्न र निर्माणको जिम्मा लिएको कम्पनीलाई पनि तत्काल काम सुरु गर्न निर्देशन र व्यवस्थापन गर्नुपर्ने जनाइएको छ । यस क्षेत्रमा रहेका सुर्खेतको काँक्रेविहार, दैलेखको पञ्चकोसी, कर्णाली अञ्चलमा पर्ने मानसरोवर, रारा ताल, से–फोक्सुण्डो, चन्द्रनाथ, राप्ती अञ्चलमा पर्ने कुपुण्डे दह, स्वर्गद्धारी क्षेत्रको
प्रचारप्रसार एवम् व्यवस्थापन गर्न पनि सरकारसँग अनुरोध गरिएको छ ।
सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष पदमबहादुर शाहीले आउँदा दिन यो क्षेत्रमा लगानी भित्रने विश्वास व्यक्त गरे । घोषणापत्रमा उल्लेख गरिएका विकास निर्माणका काममा सरकारबाट सहयोग प्राप्त हुने र बजेट विनियोजन गरिने पनि आशा पनि उनले व्यक्त गरेका छन् । गत मङ्सिर २८ गतेदेखि सञ्चालन भएको महोत्सव आज समापन हुँदैछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us