संविधानसभा गठनमा जटिलता : नेम्बाङ

काठमाण्डु टुडे २०७० पुष ७ गते ८:०३ मा प्रकाशित

imagesइलाम, ७ पुस – संविधानसभाका सदस्य तथा इलाम क्षेत्र नं २ बाट निर्वाचित सभासद सुवासचन्द्र नेम्बाङले संविधानसभा गठनमा धेरै जटिलता उत्पन्न भएको बताएका छन् ।

इलाममा आइतबार पत्रकारहरुसँग कुराकानी गर्दै नेम्बाङले अघिल्लो संविधानसभाले गरेका महत्वपूर्ण उपलब्धिलाई संस्थागत गर्दै थप उपलब्धि हासिल गर्नुपर्नेमा जोड दिए ।

संविधानसभा शून्यको अवस्थाबाट थाल्न नहुने नेम्बाङको भनाइ छ । उनले भने, ‘शून्यको अवस्थाबाट थालियो भने विगतको उपलब्धि गुम्छ, अनि समय पनि धेरै लाग्छ । त्यसैले थप गर्नुपर्ने कुरामा मात्र सबै लाग्नुपर्छ ।’ विगतमा संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्ष राष्ट्र, समावेशिता जस्ता महत्वपूर्ण उपलब्धि हासिल भएको उनको भनाइ छ ।

‘३३ दलीय मोर्चालाई पनि सहभागी गराएर संविधान लेख्नु त्यति सहज छैन, संविधानमा सबै वर्ग, जाति, धर्म, लिङ्गको समान सहभागिताका लागि पनि सहभागी गराउनु पर्ने चुनौती छ’ उनले भन्नुभयो ।

संविधानसभामा विजय भएपछि दोस्रो पटक गृह जिल्ला पुगेका नेम्बाङले आफूले पहिले गरेका बाचा पूरा गर्न लागिरहेको समेत बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us