घरेलु हिंसाका मुद्दामा वृद्धि

काठमाण्डु टुडे २०७० पुष ७ गते ६:३६ मा प्रकाशित

sexual-harresmentकाठमाण्डु, ७ पुस – घरेलु हिंसाबाट प्रभावित महिलाका लागि सञ्चालित केन्द्र र उपकेन्द्रले सेवा प्रदान गर्न थालेपछि घरेलु हिंसाका मुद्दामा वृद्धि भएको छ । घरेलु हिंसामा परेका महिला खुलेर आफ्नो अधिकारका लागि मुद्दा दर्ता गर्न आउन थालेका छन् ।
घरेलु हिंसाबाट प्रभावित महिलालाई लक्षित गरी १५ जिल्लामा केन्द्र र ८४ ओटा उपकेन्द्र सञ्चालनमा ल्याइएको महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले जनाएको छ । सरकारी तथ्याङ्कअनुसार गत वर्षभन्दा यो वर्ष ४७९ ओटा मुद्दा वृद्धि भएको छ ।
सञ्चालित केन्द्र तथा उपकेन्द्रमा आव २०६८/६९ मा एक हजार ८८ उजुरी दर्ता भएको तथ्याङ्कले देखाएको छ । तथ्याङ्कअनुसार ७०३ वटा मुद्दा फछ्र्योट भएकोमा ३८५ मुद्दा बाँकी रहेका थिए । त्यसैगरी २०६९/७० को तथ्याङ्कअनुसार एक हजार ५६७ वटा मुद्दा दर्ता भएकोमा एक हजार १४१ मुद्दा फछ्र्योट भएका छन् भने ४२६ मुद्दा बाँकी रहेका छन् ।
महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघ–संस्थाले सचेतनाका कार्यक्रम सञ्चालन गर्दै आएकाले महिलाहरु आफ्नो अधिकार प्रति सचेत बन्दै आफूमाथि भएको हिंसाको खुलेर विरोध गर्न थालेका महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार महिलाहरु सबैभन्दा बढी घरेलु हिंसाबाट पीडित भएका छन् । समाजमा महिलालाई हेर्ने दृष्टिमा परिवर्तन नआउँदासम्म महिला हिंसाका घटनामा कमी आउन नसक्ने मन्त्रालयका कार्यक्रम प्रमुख जयलाल तिवारीले बताए । घरेलु हिंसाका मुद्दामा वृद्धि हुनुले महिला सचेत भएको देखिए पनि समाज सचेत हुन नसकेकोे उनको भनाई छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us