
काठमाण्डु, ८ पुस – चुनावमा भएको भनिएको धाँधलीको छानविन गर्न समिति गठन र उच्चस्तरीय राजनीतिक समितिलाई निरन्तरता दिने विषयमा एमालेले असहमति जनाएपछि मुख्य तीन दलको बैठक विना निष्कर्ष सकिएको छ ।
शान्ति कोषको सचिवालय बबरमहलमा बसेको बैठकमा एकीकृत माओवादीले राखेको ५ बुँदे माग तथा सरकार गठनमा सहमतिको प्रयास भएपनि कुनै सहमति हुन सकेन ।
बैठकमा नेकपा एमालेले छानविन समितिको गठन र उच्चस्तरीय राजनीतिक समिति गठन गर्ने विषयमा असहमति जनाएको थियो ।
नेपाली काँग्रेस, नेकपा एमाले र एमाओवादीका शीर्ष नेताहरु सहभागी बैठकपछि प्रतिक्रिया दिँदै एमाओवादीका नेता पोष्टबहादुर बोगटीले कुनै ठोस सहमति नजुटेको जानकारी दिए ।
यस्तै नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले छलफल सकारात्मक रहेको बताए । ‘छलफल सकारात्मक ढंगले अघि बढेको छ, पौडेलले भने, ‘कुनै मूर्त सहमति भने भएको छैन ।’ नेताहरु पुनः छलफललाई निरन्तरता दिन सहमत भएपनि अर्काे बैठक कहिले बस्ने भन्ने निश्चित छैन ।
यसअघि आइतबार नेपाली काँग्रेस र एमाओवादी, एमाले र एमाओवादी तथा काँग्रेस र एमालेका नेताहरुबीच द्विपक्षीय छलफल भएको थियो । बैठकमा काँग्रेस र एमालेले एकीकृत माओवादीलाई संविधानसभा र सरकारमा सहभागी हुन आग्रह गरेका थिए ।
तर, एमाओवादीले निर्वाचनमा भएको भनिएको धाँधली छानविन आयोग गठन, उच्चस्तरीय राजनीतिक समितिको निरन्तरता, सत्य निरुपण तथा मेलमिलाप आयोग गठन लगायतका पाँच बुँदा सम्वोधन भए मात्रै संविधानसभामा जाने बताएको थियो ।