
काठमाण्डु, ६ पुस – नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले एक वर्षभित्र नयाँ संविधान जारी हुन नसके समस्यालाई अल्झ्याएर नराखी विवादित विषयमा जनमतसङ्ग्रह गरिनुपर्ने बताएका छन् । वज्रयोगिनी गाविसमा शनिबार भवन शिलान्यास कार्यक्रममा नेता नेपालले ६ महिनाभित्र मस्यौदा र एक वर्षभित्र संविधान जारी गरेर मुलुकलाई आर्थिक क्रान्तिमा लैजानुपर्नेमा जोड दिए ।
पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले भने, ‘संविधानमा विवादित सवालमा सहमति हुन नसके समस्यालाई अल्झाएर राख्नुहुँदैन, जनमतसङ्ग्रहमा जानुपर्छ ।’
केही दलका आग्रहहरु समझदारीमा परिणत हुन लागेको भन्दै नेपालले चाँडै संविधानसभाको बैठक बस्ने जानकारी दिए । कार्यक्रममा वरिष्ठ नेता नेपालले ३० हजार अमेरिकी डलर लागतमा बन्न लागेको सो विद्यालयको नयाँ चारकोठे भवनको शिलान्यास गरे ।