
काठमाण्डु, ६ पुस– नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरुले सबैलाई मिलाएर अघि बढ्न नेतृत्वलाई सुझाव दिएका छन् । शनिबार पार्टी मुख्यालय सानेपामा बसेको बैठकमा धारणा राख्ने अधिकांश नेताले ठूलो पार्टीको हैसियतले सबैलाई मिलाएर अघि बढ्न नेतृत्वलाई आग्रह गरेका हुन् ।
बैठकमा १३ जना नेताले आफ्नो धारणा राखेको पार्टी प्रवक्ता दिलेन्द्रप्रसाद बढुले जानकारी दिए । बैठक आईतबार बिहान ११ बजे पुनः बस्नेगरी स्थगित भएको छ ।
बुधबारदेखि जारी बैठकमा संविधानसभा निर्वाचनपछि दलहरुबीच उत्पन्न मतभेद, भावी सत्तासमीकरण तथा समानुपातिक सभासद छनोटको मापदण्डलगायत विषयमा छलफल भइरहेको छ ।
यसअघि बोल्ने अधिकांश सदस्यले एकीकृत माओवादीसँग नभई संविधानसभाको दोस्रो ठूलो दल एमालेसँग सहकार्य र प्रतिस्पर्धाको नीतिका आधारमा अघि बढ्न नेतृत्वलाई दबाब दिएका थिए ।
जनताले मुख्य प्रतिस्पर्धी एमालेसँगको गठबन्धनमा सरकार र संविधान निर्माणको काम अघि बढाउन म्याण्डेट दिएकाले त्यसैका आधारमा अघि बढ्नुपर्ने भनाइ उनीहरुको छ । राष्ट्रपति परिवर्तनको एमाले प्रस्तावमा भने अधिकांश सदस्य असहमत छन् । एमालेले भने यसअघि नै कांग्रेसँग सहकार्य र प्रतिस्पर्धाको नीति लिने निर्णय गरिसकेको छ ।
यस्तै बैठकमा अन्तर्घात गरी पार्टीका प्रत्यक्षतर्फका उम्मेदवार हराउन भूमिका खेल्ने समानुपातिक उम्मेदवारलाई सभासद बनाउन नहुने आवाज चर्को रुपमा उठेको छ । समानुपातिकतर्फ ९१ सिट पाएको काँग्रेसमा आकांक्षी धेरै भएपछि व्यक्ति छनोटमा विवाद छ ।
पार्टीले निर्वाचन आयोगमा बुझाएको बन्द सूचीमा रहेका कतिपय उम्मेदवार विरुद्ध चुनावमा अन्तरघात गरेको भन्दै उजुरी समेत परेको छ । यसै विषयमा छलफल गर्न अनुसासन कमिटिको बैठक बस्दैछ । बैठकले छानविनको प्रारुप तय गर्ने अनुसासन कमिटिका संयोजक आमोदप्रसाद उपाध्यायले जानकारी दिए ।