
रसुवा, ५ पुस– रसुवाको चिलीमे ५ मा रहेको तातोपानीमा नुहाउन आउने आन्तरिक तथा बाह्य पर्यटकको भीड बढेकोे छ ।
कात्तिकदेखि चैतसम्म नुहाउनको लागी रसुवाका साथै विभिन्न जिल्लाबाट आउने पर्यटकको संख्या बढेको हो ।
स्वदेशी पर्यटक मात्र नभइ विदेश पर्यटक समेत तातोपानीमा नुहाएर फर्कने गरेको स्थानीय बासिन्दा बताउँछन् । तातोपानीमा नुहाउँदा शरीरमा लाग्ने घाउँ खटिरा निको हुने जनविश्वास रही आएको छ ।
तातोपानीमा नुहाउँदा गानो गोला तथा छालाका रोग निको हुने जनविश्वासका कारण भीड बढेको तातोपानी आसपासका स्थानीय बासिन्दाले बताए ।
अघिल्ला वर्षहरुमा वर्षको १० हजार जना मानिस तातोपानी पुग्ने गरेको भएपनि यो गएका वर्षको तुलनामा पर्यटक बढेको स्थानीय पेम्वा तामाङले बताए ।
नेपालको दोस्रो ठुलो तातोपानीको रुपमा रहेको यहाँको तातोपानीमा स्नान गर्ने धार्मिक र स्वास्थ्यको दृष्टिले पनि फाइदाजनक हुने भएका कारण आफू नुहाउन आएको नुवाकोटका कृष्ण खनालले बताए । अघिल्लो पटक आउँदा छालाको रागे निको भएकाले आफू फेरि गएको उनले बताए ।
तातोपानीमा नुहाउन महिला र पुरुषका लागि फरक फरक पोखरीको व्यवस्था समेत गरीएको छ । तीन वटा पोखरी र ६ वटा धाराको व्यवस्था गरिएको यस ठाउँमा स्नानका लागी कात्तिकदेखी बैशाखसम्म भीड लाग्ने गर्दछ ।
तातोपानीमा स्नानका लागि टिआरपिएपिमार्फत नेपाल पर्यटन बोर्डको सहयोगमा पोखरीको पुन निर्माण गरीएको छ । समुद्र सतहबाट २६ सय मिटर उचाइमा रहेको तातोपानी प्राकृतिक रुपमा तातो भएका कारण पनि आन्तरीक तथा बाह्य पर्यटकको संख्यामा बृद्धि भएको हो ।
तातोपानीबाट मनोरम हिमश्रङखलाको मज्जा लिन सकिने भएका कारण यस वर्ष नुहाउन आउने विदेशी पर्यटको संख्यामा थप बृद्धि हुने अनुमान यहाँका होटल व्यवसायीहरुले गरेका छन ।