‘सबैलाई मिलाउएर लैजाने प्रयास हुँदैछ’

काठमाण्डु टुडे २०७० पुष ६ गते ७:३४ मा प्रकाशित

prakash man singकाठमाण्डु, ६ पुस – नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले संविधानसभामा सबै राजनीतिक दलको प्रतिनिधित्व गराउने प्रयासका कारण सरकार गठन प्रक्रियामा विलम्ब भएको बताएका छन् ।

नेपाल आयल निगम स्वतन्त्र कर्मचारी युनियनले नेपाली काँग्रेसका तर्फबाट संविधानसभा निर्वाचनमा विजयी उपत्यकाका र काभ्रे जिल्लाका सभासद्को बधाई तथा सम्मानमा शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले सबै दललाई मिलाएर लैजान काँग्रेसले पहल गरिरहेको बताए । संविधानसभाको प्रक्रियाबाट चाँडै सरकार गठन हुने सिंहको भनाई छ ।

“मिश्रित निर्वाचन प्रणालीमा समानुपातिकतर्फका उम्मेदवार चयनमा केही ढिलाइ भएको छ, एमाओवादीलगायत सबै पार्टीलाई मिलाएर लैजानुपर्ने बाध्यता भएकाले काँग्रेसले विशेष पहल गरिरहेको छ, सिंहले भने, “अब संविधानसभा प्रक्रियाबाट चाँडै नयाँ सरकार गठन हुन्छ ।”

महामन्त्री सिंहले, “जनताले एक वर्षभित्रै लिखित सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक संविधान बनाउने जिम्मेवारी दिएका छन् काँग्रेसले सबै दललाई मिलाएर लैजाने प्रयास जारी राखेको छ” भने ।

सहमतिका आधारबाटै संविधान जारी गर्न चाहे पनि विगतमा सहमतिका नाममा समय खेर गएको भन्दै उनले गल्तीलाई दोहोरिन नदिन सकभर सहमति र नभए विधि र प्रक्रियाबाट एक वर्षभित्रै लोकतान्त्रिक संविधान जारी गरिने दोहो¥याए ।

काँग्रेसले आफ्नो जिम्मेवारी पूरा गर्न एमाले, एमाओवादी, मधेसवादीलगायतका दललाई वार्ता प्रक्रियाबाट सहमतिको मार्ग अघि बढाएको भन्दै उनले सरकार बनेको छ महिनाभित्रै स्थानीय निकायको निर्वाचन गराइने विश्वास दिलाए ।

सो अवसरमा कर्मचारी युनियनले काँग्रेसका महामन्त्री एवम् काठमाडौँ क्षेत्र नं १ का विजयी सभासद् प्रकाशमान सिंह, क्षेत्र नं ५ का नरहरि आचार्य, क्षेत्र नंं ९ का ध्यानगोविन्द रञ्जित क्षेत्र नं १० का राजन केसी, भक्तपुर क्षेत्र नं २ का रामेश्वरप्रसाद ढुङ्गेल र काभ्रे क्षेत्र नं ३ कञ्चनचन्द्र बादेलाई सम्मान गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us