जापानी शैलीका शौचालय प्रयोगविहीन

काठमाण्डु टुडे २०७० पुष ६ गते १:५५ मा प्रकाशित

सल्यान ६, पुस–सल्यानको अधिकांश विद्यालयमा बनेका शौचालयहरू प्रयोगविहीन अवस्थामा रहेका छन् ।     गाविस,जिविस, सिविन नेपाल, जिल्ला शिक्षा कार्यालय र अन्य सङ्घसंस्थाको अनुदान सहयोगमा निर्मित सुविधा सम्पन्न शौचालयहरू पानीको अभावमा प्रयोगविहीन अवस्थामा भेटिएका हुन् ।
जिल्लाको पश्चिमी क्षेत्रमा रहेका अधिकांश उच्च मावि, निमावि र प्राथामिक विद्यालयमा बनेका शौचालयहरु प्रयोगविहीन अवस्थामा पुग्न थालेका हुन् ।
कृष्ण माध्यमिक विद्यालयका प्रधानाध्यापक अशोक साहका अनुसार पानीको अभावमा नै विद्यालयको शौचालय प्रयोग गर्न नसकिएको हो । पानीको समस्या दर्शाउँदै विद्यालयमा शौचालय प्रयोगमा नआउँदा विद्यार्थीलाई समस्या पर्ने गरेको छ ।
भगवती निम्न माध्यमिक विद्यालय खैरागाडकी छात्रा रमिता केसीले शौचालय प्रयोगविहीन हँुदा केटाहरूलाई भन्दा आफूहरूलाई बढी समस्या हुने गरेको बताइन् । अझ रजश्वला भएको समयमा छात्राहरुले ठूलो पीडा खेप्नुपर्ने बाध्यता भएको उनको दुखेसो रहेको छ ।
महिनावारी भएको समयमा अधिकांश केटीहरू विद्यालय पढ्न नआउनको मुख्य कारण पनि यही भएको कृष्ण माध्यमिक विद्यालय लेखसंग्रहीमा कक्षा १० मा अध्ययनरत प्रिति साह बताउँछिन् ।
शौचालय भए पनि प्रभाकर मावि देवस्थल, मुक्ति मावि हिले, जनता उच्च मावि रागेचौर, उच्च मावि च्युरालगायतका नाम चलेका विद्यालयको समेत उही हविगत देखिन्छ । आफ्नो विद्यालयमा शौचालयमा प्रयोग गर्ने पानीको त कुरै छाडौँ पिउने पानीसमेत नभएकाले समस्या थपिएको उच्च मावि च्युराका प्राचार्य पूर्णप्रसाद जैसी बताउछन ।
लाखांै खर्च गरेर विद्यालयमा निमार्ण भएका शौचालयहरू पानीको अभाव देखाउँदै प्रयोगमा नआउनु विडम्बनापूर्ण भएको अभिभावकहरु बताउँछन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us