सडक अधुरै छोडेर जिआइजेड फर्कियो

काठमाण्डु टुडे २०७० पुष ६ गते १:५३ मा प्रकाशित

बैतडी, ६ पुस–चार वर्षदेखि जिल्लामा सडक निर्माण कार्यमा संलग्न जर्मन सहयोग कार्यक्रम (जिआइजेड) सडकको काम अधुरै छोडेर फर्किएको छ ।
दशरथचन्द राजमार्गको देहिमाण्डौंदेखि गिरेगडासम्मको ३१ दशमलब ७ किलोमिटर सडकमध्ये २८ किलोमिटर मात्रै खनेर जिआइजेड फर्किएको हो । सडकमुनिका बासिन्दाले ढुङ्गा खस्ने भन्दै विवाद गरेपछि सडकको बाँकी काम हुन नसकेको जिआइजेडको भनाइ छ ।
जिआइजेडको इलारा परियोजनाअन्तर्गत सुरु भएको सडक निर्माण कार्य सम्झौता सकिएकाले परियोजना फेज आउट भएको जिआइजेडकी कार्यक्रम संयोजक सम्झना शाहीले बताइन ।
स्थानीय बासिन्दाले भने विवाद साम्य भइसकेकाले सडक निर्माणको अनुरोध गरे पनि जिआइजेडले ध्यान नदिएको बताएका छन् । ३१ दशरमलव ७ किलोमिटर सडक निर्माण गर्ने सम्झौता भएपनि काम अधुरै छोडेर जिआइजेड फर्किएपछि स्थानीय बासिन्दा निरास बनेको स्थानीय रमेश भण्डारीले बताए ।
जिआइजेडले जिल्लाको दक्षिणी क्षेत्रमा सडक, विद्यालय, बाटो, खानेपानी, कृषिलगायतका क्षेत्रमा करिब ४३ लाख बराबरको लगानी गरेको बताएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us