आज पहिलो चरणमा पोलियो थोपा खुवाईंदै

काठमाण्डु टुडे २०७० पुष ६ गते २:२२ मा प्रकाशित

Polioकाठमाण्डु, ६ पुस–राष्ट्रिय पोलियो खोप अभियानको पहिलो चरण शनिबारदेखि शुरु भएको छ । तराई र पहाडका ६८ जिल्लामा पाँचबर्ष मुनिका बालबालिकालाई पोलियो थोपा खुवाउने कार्यक्रम शुरु भएको हो ।

पोलियो रोग लाग्नबाट बचाउन जन्मेदेखि पाँच वर्षमुनिका ४२ लाख २६ हजार ९९६ बालबालिकालाई पोलियो थोपा खुवाउने सरकारको लक्ष्य छ ।

गाविस र नगरपालिकाका प्रत्येक वडामा तोकिएका खोप केन्द्रमा आफ्ना बालबालिकालाई लगेर पोलियो थोपा खुवाउन सरकारले सबै अभिभावकलाई अनुरोध गरेको छ । ४० हजार ४४७ खोप केन्द्रमा ८० हजार ९४८ स्वयम्सेवक परिचालन हुनेछन् ।

केही करणवस पहिलो दिन पोलियो थोपा खुवाउन छुटेका बालबालिकालाई दोस्रो दिन अनिवार्य रुपमा पोलियो थोपा खुवाउनुपर्ने व्यवस्था मिलाइएको बालस्वास्थ्य महाशाखाका प्रमुख डा. सेनेन्द्र राज उप्रेतीले जानकारी दिए ।

दोस्रो चरणको सो कार्यक्रम माघ ११ र १२ गते तराई तथा पहाडी जिल्लामा शुरु हुने छ । यसैगरी हिमाली जिल्लामा पहिलो चरणमा आगामी चैत ८ र ९ गते तथा दोस्रो चरणमा २०७१ वैशाख १३ र १४ गते पोलियो खोप अभियान सञ्चालन गरिने छ ।

बालबालिकालाई पोलियो थोपा खुवाउने अभियानका लागि मन्त्रालयलाई विश्व स्वास्थ्य संगठन, युनिसेफ, रोटरी इन्टरनेसनल, लाइन्सक्लब इन्टरनेसनल र नेपाल रेडक्रस सोसाइटीले सहयोग गरिराखेका छन् । अभियानका लागि रु २९ करोड खर्च हुने महाशाखाले जनाएको छ ।

नेपालमा सन् २०१० देखि पोलियोका रोगी देखा परेका छैनन् । लगातार तीन वर्षसम्म पोलियो रोगी देखा नपरेमा अर्काे वर्ष पोलियो शून्य प्रमाणीकरण भएको देशका रुपमा विश्वस्वास्थ्य संगठनले प्रमाणीकरण गर्ने प्रचलन रहेको छ । सन् २०१४ को फ्रेब्रुअरी महिनामा नेपाल पोलियो शून्य प्रमाणित हुने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us