‘राष्ट्रपति र उपराष्ट्रपतिलाई भागबन्डाको विषय नबनाउ’

काठमाण्डु टुडे २०७० पुष ५ गते १७:२६ मा प्रकाशित

Nepali-Congress-Flag1315101735काठमाण्डु, ५ पुस – नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरुले राष्ट्रपति र उपराष्ट्रपतिलाई भागबन्डाको विषय नबनाउन नेतृत्वलाई सुझाव दिएका छन् । शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा धारणा राखेका १२ जना नेताहरुले राष्ट्रपति र उपराष्ट्रपति परिवर्तनको विवादमा अल्मलिन नहुने बताएका हुन् ।

उनीहरुले सबै दलको सहमति विना नयाँ संविधान सम्भव नहुने भएकाले एकीकृत माओवादी लगायत दलको समर्थन जुटाउन पहल गर्न नेतृत्वको ध्यानाकर्षण गराएका छन् । तर, सहमतिको नाममा समय खेर फाल्न नहुने भन्दै उनीहरुले प्रक्रियामा जान काँग्रेस नेतृत्वलाई सुझाव दिएका छन् ।

बैठकमा नेताहरुले एमालेलाई छाडेर एकीकृत नेकपा माओवादीसँग मिल्न थालेको भनेर सन्चार माध्यममा आएका कुरा स्पष्ट पार्न माग गरेका थिए । एमालेलाई साथमा नलिए फेरि पनि संविधान नबन्ने भन्दै उनीहरुले त्यसो नगर्न सचेत पारेको केन्द्रीय सदस्य धनराज गुरुङले जानकारी दिए ।

बैठकमा सभापति सुशील कोइरालाले एमालेलाई बाहिरै छाडेर एकीकृत माओवादीसँग मात्रै सहमति हुन लागेको भन्ने समाचारको खण्डन गरेका थिए । सभापति कोइरालाले आफू र एकीकृत माओवादी अध्यक्ष प्रचण्डबीच छलफल भए पनि कुनै सहमति नभएको प्रष्ट पारे ।

एमाओवादीसँगको छलफल सकारात्मक भएकोले सबैलाई समेटेर अघि बढ्न आफूले प्रयास गरिरहेको तर एमालेलाई बेवास्ता गरेर जाने कुनै मनसाय नभएको भनेर सभापति कोइरालाले स्पष्ट पारेको केन्द्रीय सदस्य गुरुङले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us