
चितवन, पुस– नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले जिल्ला निर्वाचन कार्यालय चितवनमा चुनावी खर्च विवरण बुझाएका छन् ।
कोइरालाले बुझाएको खर्च विवरण अनुसार उनले चुनावमा ९ लाख ४६ हजार ४ सय १० रुपैयाँ खर्च भएको जनाएका छन् ।
कोइरालाले कार्यकर्ता परिचालन, इन्धन, सवारी साधन, कार्यालय सञ्चालन, विद्युतीय तथा छापा माध्यममा प्रचार, प्रचार सामग्री खरिदलगायतमा खर्च भएको उल्लेख गरेका छन् ।
कोइरालाको चुनावी खर्च जुटाउन नारायणगढमा रहेका राइजिङ डेभलपमेन्ट बैंकमा खाता खोलेर सहयोग अपिल गरिएको थियो ।
नेपाली कांग्रेस चितवनका सचिव जितनारायण श्रेष्ठले स्थानीय उद्योगी व्यवसायी, पेसाकर्मी र दाताहरूस“ग आर्थिक सङ्कलन गरी खर्च जुटाइएको बताए ।
सभापति कोइरालाको चुनावी खर्चका लागि पैसाको अभाव भएको समाचार बाहिर आएपछि पेसाकर्मीहरूले आर्थिक सङ्कलनमा जोड दिएका थिए ।
निर्वाचन आयोगले खर्चको दायरा प्रत्यक्ष उम्मेदवारका लागि १० लाख रुपैयाँ तोकेको थियो ।
यस्तै नेकपा (एमाले)की पार्वती रावलले पनि निर्वाचन खर्च विवरण बुझाएकी छन् । रावलले सात लाख २८ हजार ३१ खर्च भएको उल्लेख गरेकी छन् ।
रासस