‘नेपालमै बसेर सेवा गर्नुस्’

काठमाण्डु टुडे २०७० पुष ५ गते १२:१७ मा प्रकाशित

khilraj regmiबनेपा, ५ पुस ।  मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले नेपालमा अवसर र विकासको सम्भावना वृद्धि भएकाले नेपालमा बसेर सेवा गर्न शैक्षिक युवा जनशक्तिलाई आग्रह गरेका छन् ।
काठमाडौँ विश्वविद्यालयले शुक्रबार धुलिखेलस्थित चौकोटमा आयोजना गरेको १९औं दीक्षान्त समारोह (चिकित्सा विधातर्फ) लाई सम्बोधन गर्दै रेग्मीले व्यावसायिक व्यक्तित्वका लागि सरकारले काम गर्ने वातावरण निर्माण गरी सहयोग र प्रोत्साहन निरन्तर जारी राख्ने आश्वासन दिए । रेग्मीले भने “स्वदेशको सेवा गर्ने भन्ने बित्तिकै अन्तर्राष्ट्रिय प्रतिस्पर्धा र अवसरबाट विमुख हुने भन्ने होइन तर दक्ष जनशक्तिले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पनि सरिक भएर सकेसम्म आफ्नो श्रम र लगानी स्वदेशमा नै पोख्नुपर्छ ।”
अध्यक्ष रेग्मीले चिकित्सा क्षेत्रमा नवीन उपचार पद्धति र औषधिको विकासका लागि अनुसन्धान र खोजमा सक्रियता बढाउन आग्रह गर्दै दीक्षित भएकाहरुलाई रोगको पहिचान, औषधिको विकास तथा चिकित्साविधा र पद्धतिको निर्माण एवम् उपकरणको आविष्कारमा लाग्न आग्रह गरे ।
शिक्षामन्त्री एवम् विश्वविश्वविद्यालयका सहकुलपति माधवप्रसाद पौडेलले आर्थिक विपन्नता खेपेको वर्गलाई समेत स्वास्थ्य सेवा पु¥याउन दीक्षित वर्गलाई आग्रह गर्दै सामान्य रोगबाट मृत्युवरण गर्ने अवस्थाको अन्त्य र उपेक्षित वर्गको पनि स्वास्थ्य सेवामा पहुँच गराउने व्यवस्था हुनुपर्नेमा जोड दिए ।
विश्वविद्यालयका उपकुलपति डा. रामकण्ठ माकाजुले अरुले गर्ने कामभन्दा फरक ढङ्गबाट काम सम्पादन गर्न आग्रह गर्दै मैले देखेको सपना साकार गर्न सक्छु भन्ने आत्मविश्वास राख्न र कठिन प्रत्यत्न गर्न दीक्षितहरुलाई आग्रह गरे ।
समारोहमा स्नातक तह (एमबिबिएस)मा सबैभन्दा बढी अङ्क ल्याउने नोबेल मेडिकल कलेज विराटनगरका कमलप्रसाद आचार्यलाई भाइस चान्सलर स्वर्णपदकबाट सम्मान गरिएको छ । उनले ८०.३२ प्रतिशत अङ्क प्राप्त गरेका थिए । समारोहमा एक हजार दुई जना दीक्षित भएका छन् । तीमध्ये २ सय ५१ विदेशी विद्यार्थी छन् । दीक्षितमध्ये चिकित्सातर्फ ४३ प्रतिशत महिला छन् । यसअघि भएको दीक्षान्त समारोहमा विभिन्न विषयमा एक हजार ५० दीक्षित भएका थिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us