
काठमाण्डु, ५ पुस– नेपाल र भारतका सरकारी अधिकारीले दुई देशको व्यापार घाटा कम गर्ने उपाय जलविद्युत मात्रै भएको बताएका छन् ।
काठमाण्डुमा भएको पत्रकार सम्मेलनमा उनीहरुले यस्तो बताएका हुन् ।
जलविद्युत्, पर्यटन, स्वास्थ्य, शिक्षा, श्रव्यदृश्य सेवा, दूर सञ्चार तथा सूचना प्रविधि, वित्तीय सेवाको क्षेत्रमा लगानी गरेर नेपालको आर्थिक विकासको गतिलाई अघि बढाउन सकिने भएपनि भारतसँग गहिरिँदै गएको व्यापार घाटा कम गर्न बृहत् जलविद्युत् परियोजना अत्यावश्यक भएको उनीहरूले बताए ।
कार्यक्रमका भारतका वाणिज्य सचिव एसआर रावले आफ्नो मुलुकको पहिलो लक्ष्य नै नेपालको समृद्धिमा सघाउनु भएको बताए ।
उनले पारस्परिक व्यापार असन्तुलन हटाउने दिशामा भारत सरकारले कुनै कसर बाँकी नराख्ने समेत बताए ।
वैदेशिक लगानीका अवरोध हटाउन दुवै मुलुकले सहकार्य गर्नुपर्नेमा उनले जोड दिए ।
वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव माधवप्रसाद रेग्मीले नेपाल सरकारले प्राथमिकता निर्धारण गरेका जलविद्युत् विकास, व्यावसायिक कृषि, भौतिक पूर्वाधार निर्माण, सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा भारतीय लगानीकर्तालाई पुँजी लगाउन अनुरोध गरे ।