माथिल्लो मर्स्याङ्दीबाट बिजुली उत्पादन हुन २५ महिना लाग्ने

काठमाण्डु टुडे २०७० पुष ५ गते ११:४८ मा प्रकाशित

Marsyangdiलमजुङ, ५ पुस– ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी ए जलविद्युत आयोजनाले अबको २५ महिनापछि बिजुली उत्पादन गर्ने भएको छ ।

समयमै सबै काम हुन पाए उक्त समयमा विद्युत उत्पादन गर्न सकिने निर्माण कम्पनी सिनो–सगरमाथा हाइड्रो पावर कम्पनीले जनाएको छ ।

अहिले ङादी बजार नजिकै रहेको झोलुङ्गे पुलमुनि खुदीतर्फको पहरोमा सुरुङ खनेर मर्स्याङ्दीको बहाव परिवर्तन गरी बाँध निर्माणको औपचारिक काम सुरु गरिएको छ ।    यो आयोजना रन अफ दि रिभर प्रविधिमा बन्न लागेको हो ।

ङादी दोभानमा बाँध बाँधेर नदीको पानीलाई पाँच किलोमिटर सुरुङमार्फत भुलभुलेको वडा नं ३ स्थित मर्स्याङ्दी तटमा निर्माण हुने विद्युत्गृहमा खसाली ५० मेगावाट क्षमताको विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

आयोजना निर्माण सम्पन्न हुन १२ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

२०७३ असोजदेखि व्यापारिक रूपमा विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको सो आयोजना चिनियाँ कम्पनी सिनो हाइड्रोको ९० र सगरमाथा हाइड्रोपावरको १० प्रतिशत लगानीमा निर्माण हुन लागेको हो ।

रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us