पोलियो अभियान उदघाटनको नाममा सरकारी बजेट दुरुपयोग

काठमाण्डु टुडे २०७० पुष ५ गते ११:१६ मा प्रकाशित

Polioकाठमाण्डु, ५ पुस–शनिबारदेखि शुरु हुने राष्ट्रिय पोलियो खोप अभियानको औपचारिक उद्घाटन शुक्रबारै गरिएको छ ।

पर्साको वीरगन्जमा स्वास्थ्यमन्त्री विद्याधर मल्लिकले गरेको उदघाटन कार्यक्रममा अनावश्यक तामझाम र तडक भडक गरिएको भन्दै स्वास्थ्य मन्त्रालयकै कर्मचारीहरुले असन्तुष्टि जनाएका छन् ।

कार्यक्रममा अनिवार्य उपस्थित हुन स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागका कर्मचारीहरुलाई निर्देशन थियो ।

स्वास्थ्य मन्त्रीको ठाडो निर्देशनपछि अधिकांश हाकिमहरु कामै नभए पनि वीरगञ्ज पुगेका छन् । ‘यहाँ आएका मध्ये ९५ प्रतिशतको कामै थिएन,’ वीरगञ्जमा रहेका स्वास्थ्यकै एक उच्च अधिकारीले भने, ‘नाटक मन्चन भयो ।’

उदघाटन कार्यक्रमको नाममा मन्त्रालय र विभागका अनावश्यक कर्मचारीलाई उपस्थित गराएर सरकारी खर्चको दुरुपयोग गरिएको उनको भनाइ थियो ।

मन्त्रालयको सचिवबाट कार्यक्रम बहिस्कार

मन्त्री मल्लिकको रवाफबाट असन्तुष्ट स्वास्थ्य मन्त्रालयका सचिव डा.प्रविण मिश्रले कार्यक्रम बहिस्कार गरे । स्वास्थ्य ठीक नभएको भन्दै उनी कार्यक्रममा जान मानेनन् । उनलाई सामान्य रुघाखोकी मात्रै लागेको छ ।

तर, बिरामीको बहानामा उनले कार्यक्रम बहिष्कार गरेको स्रोतको दावी छ । ‘विदेश धाइरहन सक्ने सचिव, रुघा लाग्दैमा घरमै सुत्नुपर्ने थिएन,’ मन्त्रालयका एक कर्मचारीले भने, ‘मन्त्रीको कार्यशैलीको विरोध गर्दै नगएको हो ।’ मन्त्रालयका डा.रोजेन सुन्दर श्रेष्ठ, उपसचिवहरु मुकुन्द निरौला, केदार अधिकारीलाई पनि सचिव मिश्रले कार्यक्रममा जानबाट रोकेका थिए ।

यद्यपी मन्त्रालय र विभागका बाह्रौं तहका अधिकांश चिकीत्सक र कर्मचारी वीरगञ्जमा पुगे ।

नेपालमा सबैभन्दा धेरै पोलियोका बिरामी तराइ क्षेत्रमा देखिएकाले सरकारले वीरगन्जका बालबालिकालाई पोलियो थोपा खुवाएर अभियानको शुरुआत गरेको स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता कविराज खनालले जानकारी दिए । ‘नेपालको तराइ क्षेत्र पोलियोको उच्च जोखिममा छ, ३२ पोलियो रोगीमध्ये ३० जना तराइका जिल्लामा देखिएका छन्,’ सहायक प्रवक्ता खनालले भने, ‘त्यसैले तराईको जिल्लाबाट अभियानको शुरुआत गर्न आवश्यक ठानेर वीरगन्जलाई रोजियो ।’

१५ औं राष्ट्रिय पोलियो खोप अभियान अन्तरगत सरकारले शनिबार तराई र पहाडका ६८ जिल्लामा पहिलो चरणमा तथा चैत ८ र वैशाख १३ गते ७ वटा हिमाली जिल्लामा दोस्रो चरणमा पाँच बर्ष मुनिकाका ४२ लाख बालबालिकालाई पोलियो थोपा खुवाइँदै छ ।

नेपाललाई पोलियो मुक्त घोषणाका लागि गत १७ बर्षदेखि पोलियो खोप अभियान सन्चालन हुदै आएको छ । नेपालमा पोलियो रोगीको संक्रमण नदेखिएपछि विश्व स्वास्थ्य संगठनले नेपाललाई आउँदो फेब्रुअरी महिनामा पोलियो शून्य राष्ट्र घोषणा गर्दै छ ।

सोही दिन नेपालसँगै दक्षिण पूर्वी एसियाका ११ देशलाई पोलियो शून्य राष्ट्र घोषणा हुनेछन् ।

रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us