‘एकीकृत माओवादी सरकारमा जाँदैन’

काठमाण्डु टुडे २०७० पुष ५ गते ११:१३ मा प्रकाशित

agni sapkotaकाठमाण्डु, ५ पुस – एकीकृत माओवादीका प्रवक्ता अग्नीप्रसाद सापकोटाले आफ्नो पार्टी सरकारमा नजाने प्रष्ट पारेका छन् । रिपोटर्स क्लवले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा बोल्दै सापकोटाले आफूहरु संविधानसभामा जाने तर, सरकारमा नजाने बताएका हुन् । ‘हामी सरकारमा जाँदैनौ, सापकोटाले भने–‘राम्रो काम गरे सरकार बाहिर रहेर नै समर्थन गर्न सकिन्छ ।’
संविधानसभामा जानका लागि नै समानुपातिक सभासदको नामावली बुझाउने म्याद थप्न आग्रह गरेको भन्दै सापकोटाले सभासद चयनका विषयमा पार्टी भित्र कुनै विवाद नरहेको दावी समेत गरे । ‘पार्टीभित्र सभासदको नाममा कुनै विवाद छैन, नाम छान्ने कुरा प्राविधिक मात्रै हो, उनले भने– ‘दलहरुबीच हामीहरुले उठाएको मागमा सहमति भएपछि नाम बुझाउँछौ ।’ अब बल काँग्रेस र एमालेको कोर्टमा रहेको सापकोटाको भनाई छ ।
‘निर्वाचनमा भएको प्रक्रियागत धाँधलीको छानविन गर्न उच्चस्तरीय आयोग गठन, सहमतिमा संविधान निर्माण गर्न संविधान संसोधन, उच्चस्तरीय राजनीतिक समितिको निरन्तरता, सत्य निरुपण तथा मेलमिलाप आयोगको गठन र संविधानसभा बाहिर रहेका शक्तिलाई पनि समेट्नु पर्ने मागमा सहमति भए पार्टी तत्कालै संविधानसभामा जाने उनको भनाई छ ।
परिवर्तनको एजेण्डा धरापमा परेको र यथास्थितिवादको गोलचक्करमा फसेर जनताको अधिकार अभिजात बर्गमा फर्काउने षडयन्त्र भए त्यसको प्रतिवाद गर्ने स्पष्ट पार्दै उनले सोही आशंकाले एमाओवादीले माग अघि सारेर त्यसको निराकरण चाहेको प्रष्ट पारे । उच्चस्तरीय राजनीतिक समितिको बैठक र सहमतिको प्रयासमा भईरहेको ढिलाईप्रति सापकोटाको आक्रोश छ ।
संविधान संसोधन अश्विकार्य : उपाध्याय
कार्यक्रममा नेपाली काँग्रेसका नेता दिपकुमार उपाध्यायले एमाओवादीले भने जस्तो संविधान निर्माणमा सहमतिको बाध्यकारी ब्यवस्था हुने गरी संविधान संसोधन गर्न नसकिने बताएका छन् । अहिलेको निर्वाचन परिणामलाई असर नपर्ने गरी प्लेन दुर्घटना हुँदा गठन गरिने जाँचबुझ आयोगजस्तै आयोगहरु गठन गर्न वा संविधानसभाबाटै शक्तिशाली संसदीय आयोग गठन गर्न भने काँग्रेस तयार रहेको उनको भनाई छ । सरकार र संविधान निर्माणमा नेपाल असफल प्रयोगशाला जस्तो भएको भन्दै उपाध्यायले एमाओवादीले उठाएकोमा सत्य निरुपण तथा मेलमिलाप आयोग गठन, पहिलाका सहमति र संविधानसभाको कामको स्वामित्व ग्रहण, संसदीय समिति गठन र माओवादीको भावनालाई संविधानसभा प्रतिनिधित्व गराउन भने काँग्रेस तयार रहेको प्रष्ट पारे ।
कार्यक्रममा एमाले नेता गोकर्ण विष्टले नेपाली काँग्रेसभित्र एमालेसँग सहकार्यको विपक्षमा कुरा उठ्न थालेको भन्दै काँग्रेसले औपचारिक रुपमा प्रतिपक्षमा बस्न आग्रह गरे त्यसको लागि एमाले तयार रहेको स्पष्ट पारे । एमाओवादीसँग मिलेर सरकार बनाउन एमालेले प्रयास नगरेको भन्दै उनले बन्द कोठाभित्र कुनै प्रयास नगरी काँग्रेसलाई सरकार गठन गर्न औपचारिक रुपमै प्रस्ताव गरेको बताए । यद्यपि पार्टी प्रतिपक्षमा बस्ने अवस्था आए पनि संविधान निर्माणमा भने विगतमा भएका सहमतिकै आधारमा पार्टी अघि बढ्न तयार रहेको उनको भनाई छ ।
यस्तै सदभावना पार्टीका उपाध्यक्ष सञ्जय शाहले मधेसी दलहरु संविधानसभालाई अवसरको रुपमा अन्तिमसम्म उपयोग गर्न तयार रहेको स्पष्ट पार्दै एमाओवादीको पुच्छर बनेर संविधानसभा बाहिस्कार नगर्ने स्पष्ट पारे । उनले मधेसी दलहरु संविधानसभामा जाने स्पष्ट पार्दै संसदीय छानविन समिति गठनमा समेत सहमति जनाउन सकिने प्रष्ट पारेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us