मलद्वार छैन,पिसाब गर्ने अङ्ग पनि कोखमा

काठमाण्डु टुडे २०७० पुष ५ गते १७:५५ मा प्रकाशित

बागलुङ, पुस  –अशक्त अवस्थामा जन्मेकी एक शिशु अहिले मृत्युसँग जुधिरहेकी छिन् ।

बागलुङको ताराखोला गाविस– ८ करिमेलाका हीरालाल सुवेदी र हरिकला सुवेदीको कोखबाट जन्म लिएकी शिशुको शारीरिक अवस्था ज्यादै नाजुक भएपछि परिवारले निको हुने नठानेर अस्पतालबाट घर फर्काएका छन् ।

बीस वर्षीया आमा हरिकलाको कोखबाट ती शिशुले यही पुस १ गते दिउँसो ४:३० बजे धवलागिरि अञ्चल अस्पतालमा जन्म लिएकी थिइन् । अस्वभाविक शारीरिक संरचना भएकी ती शिशुको मलद्वार नभएको, मेरुदण्ड कमजोर भएको र पिसाब गर्ने अङ्ग पनि कोखमा भएको उनका बुबा हरिलाल सुवेदीले बताए ।

अस्पातलमा जन्मदा मात्रै बच्चा त्यस्तो अवस्थामा रहेको थाहा पाएको सुवेदीले बताए । आमा गर्भवती भएको ठीक नौ महिना पुगेर दश महिनामा प्रवेश गर्दाकै दिनमा बच्चाको अस्पतालमा जन्म भएको थियो ।

जन्मने बित्तिकै अस्पतालका डाक्टरले बच्चाको अवस्था नाजुक रहेकाले तुरुन्त काठमाडौँ लैजान सुझाव दिएपनि खर्च अभावले आफूहरुले घर फर्काएको सुवेदीले बताए ।

पहिलो सन्तानको रुपमा जन्म लिएको बच्चा नै अशक्त जन्मेपछि सुवेदी दम्पती चिन्तित बनेको छ । सुवेदीका बुबा हरिदत्त सुवेदीले बच्चाको उपचार हुन नसक्ने ठानेर काठमाण्डु नलगिएको जानकारी दिए । “यस्तो अवस्थाको बच्चा उपचार गरेर निको होला जस्तो पनि लागेन, यदि बाँचिहाले पनि कस्तो अवस्था होला, सुवेदीले भने “फेरि हामीसँग काठमाण्डु, पोखरा लैजाने खर्च पनि छैन ।” धवलागिरि अञ्चल अस्पतालका डाक्टरले निको हुनेसम्भावना कम भए पनि एकचोटी काठमाण्डु लैजान सुझाएको उनको भनाइ छ ।

दुई दिनसम्म बच्चाले आमाको दूध पनि नखाएको र बुधबारदेखि बच्चाले दूध चुस्न थालेको बताइएको छ । पिसाब भइरहेको भए पनि दिसा हुन नपाउँदा पेट सुन्निएको आमा हरिकला सुवेदीले बताइन् । मलद्वार हुने ठाउँमा ठूलो घाउ रहेको र घाउबाट रगत पनि बगिरहेको उनको भनाई छ ।

उक्त शिशुको दुवै खुट्टा एकअर्कामाथि खप्टिएको अवस्थामा छन् । छातीभन्दा माथिको भाग भने सामान्य शिशुको जस्तै रहेको छ । परिवारजनले बच्चाको उपचारका लागि सबैसँग सहयोगको याचना गरेका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us